मरेका पशुपंक्षीको दुर्गन्धले बाढी प्रभावित क्षेत्र ईटहरीमा हैजा प्रकोपको संकेत

627
views

इटहरी, ३२, श्रावण । इटहरी उपमहानगरपालिका–४, ९ र १० मा हैजाको प्रकोप बढ्ने संकेत देखिएको छ । अविरल वर्षापछि आएको बाढीले मरेका पशुपंक्षीको दुर्गन्धले हैजाको प्रकोप बढ्ने देखिएको हो । ईटहरीमा ठूलो जनधनको नोक्सानी भएको छ । उक्त क्षेत्रमा उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्राहीमा समेत हैजाको त्रास देखिएको छ । सबैभन्दा बढी नोक्सानी भएको इटहरीको यो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक संघ संस्था लगायतले पुरिएका र भत्किएका घरको उत्खनन् गर्ने कार्यमा संलग्न मानिसमा समेत हैजाको संक्रमण फैलन सक्ने अवस्था रहेको छ ।
बूढीखोला पूर्व र पश्चिमपट्टिको मानव बस्तीमा बाढीमा परेर कति चौपाया बगेर बेपत्ता भए वा पुरिए भन्ने अझै पनि तथ्यांक सार्वजनिक भएको छैन । ती बस्तीका घरपालुवा गाईभैँसी बाख्रा सुगुरसमेत धेरै बाढीको लेदोमा पुरिएको तथा बाढीमा परेर बेपत्ता भएका मानिसको समेत शव फेला नपरेकाले त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।
इटहरीमा इटहरीको बूढीखोला किनारमा मात्र झण्डै दुई हजार मानिस विस्थापित भएका छन् । उनिहरुको बसाइ त्यस क्षेत्रका मन्दिर, विद्यालय एवं अन्य स्थानमा पाल समेत टाँगेर आपत्कालीन शरणमा बसेका छन् ।