नगद लिएर प्रधानमन्त्री बाढीग्रस्त क्षेत्रमा, बाढी पहिरोमा मृत्यु भएकालाई दुईलाख दिने सरकारको निर्णय

698
views

नवदृष्टि संवाददाता
नेपालगञ्ज १, भदौ । बाढीका कारण मृत्यु भएका बाँकेका तीन परिवारलाई प्रधानमन्त्रीले नगद सहयोग वितरण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाँके जिल्ला राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई नगद सहयोग वितरण गर्नु भएको हो । कमैया डाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई छ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई दुई लाख दिने निर्णय गरेको बताउनुभयो ।
अविरल बर्षाका कारण साउन २८ गते राति राप्ती नदीमा आएको बाढीले सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल समेत प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले उक्त सरकारले बाढी आउन नदिने उपायको खोजी गर्ने आश्वासन समेत दिनुभयो ।
यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री आजै बर्दिया र कैलाली जिल्ला तर्फ प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलाली जिल्लाको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसँग भेटघाट गर्ने र राहत उपलब्ध गराउने कार्यक्रम रहेको बाँकेका प्रजिअ रमेशकुमार केसीले जानकारी गराउनुभएको छ ।