नयाँ पार्टी घोषणा गर्न लागेको भन्दै विप्लवका कार्यकर्ताले आफ्नै नेता कुटे

833
views

काठमाण्डौ १,भदौ पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीमा परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेताले नयाँ पार्टी गठन गर्ने तयारी गरेपछि कुटाइ खानुपरेको छ ।
केन्द्रीय सदस्य एवं भेरी अञ्चल प्रमुख जीवन खड्का र अर्का केन्द्रीय सदस्य रामबहादुर विकले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेपछि आफ्नै कार्यकर्ताको निशानामा परेका हुन् ।
बुधबार बेलुका सोह्रखुट्टेमा दुवै जनालाई विप्लव पक्षका कार्यकर्ताले कुटपिट गरेका हुन् । दुवै जनालाई सीतापाइलामा रहेको मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।
केही दिनअघि खड्कालाई पार्टीको साधरण सदस्य मात्र रहने गरी र विकलाई पार्टीबाट निष्कासन गरिएको एक नेताले उज्यालो अनलाइनलाई जानकारी दिए ।
बुधबार नै लमजुङमा भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट असन्तुष्ट केही नेता मिलेर नयाँ पार्टी गठन गरेका छन् । उनीहरुले ‘फ्रिडम कम्युनिष्ट लिग नेपाल’ नामक पार्टी गठन गरेको घोषणा गरेका हुन् ।
बुधबार बेँसीशहरमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीबारे जानकारी गराएका छन् । नयाँ पार्टी गठन भएसँगै तत्कालिन नेकपाका जिल्ला नेताहरु भोजराज त्रिपाठी ९सहज० र सुजन अधिकारी लगायत १९ जनाको केन्द्रिय कमिटि बनेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार केन्द्रीय कमिटिमा लमजुङ लगायत अन्य १२ जिल्लाका प्रतिनिधिको सहभागिता छ । ‘मुलुकको अव्यवस्थित राज्यव्यवस्थालाई परिवर्तन गर्ने राजनीतिक आन्दोलन विप्लव नेतृत्वको नेकपाले नगरेको भन्दै नयाँपार्टी गठन गरिएको हो’ नवगठित पार्टीका महासचिव त्रिपाठीले भन्नुभयो ।
नागरिकलाई प्रयोगशालाको रुपमा लिने राजनीतिक प्रवृत्तिले क्रान्तिका गतिविधि अघि नबढ्ने र क्रान्तिको लागि नयाँ पार्टीको आवश्यकता रहेकोले नयाँ पार्टी गठन गरिएको उहाँको कथन छ । ‘विप्लव पार्टीमा अराजनीतिक कार्यशैली मौलाएको छ, व्यक्तिवादी संक्रिणता बढेको छ’ उहाँले आरोप लगाउनुभयो