बाढी प्रभावित केही क्षेत्रमा औषधिको संकट, महामारी आउन नदिन उच्च निगरानी

867
views

काठमाण्डौ, २, भदौ । बाढी प्रभावित जिल्ला चितवन, बारा, पर्सा, धनुषा, रौतहट र सर्लाहीका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिको संकट परेको छ ।वर्षासँगै आएको बाढी र पहिरोले यातायात अवरुद्ध हुँदा स्वास्थ्य संस्थामा आवश्यक औषधि पुर्याउन कठिनाइ भएकाले समस्या निम्तिएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका क्षेत्रीय निर्देशक डा. वासुदेव पाण्डेले बताए । प्राप्त जानकारी अनुसार सर्लाहीका पाँचवटा स्वास्थ्य संस्थाहरू बाढीका कारण बन्द रहेका छन् । स्वास्थ्य सेवा विभागले बाढी र पहिरो प्रभावित ३० जिल्लाका ८० प्रतिशत सर्वसाधारणहरु महामारीको जोखिममा रहेको बताईएको छ । तर, सामान्य बिरामी देखिए पनि महामारीको सम्भावना भने अहिले नरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले बताए ।
बाढी प्रभावित क्षेत्रमा खटिएका टोली अर्थात विराटनगर, जनकपुर, रौटहट, सप्तरी र नेपालगन्जमा खटिएका स्वास्थ्यकर्मीको टोलीले महामारी आउन नदिन उच्च निगरानी अपनाएका छन् । सर्लाहीमा भने बाढी प्रभावितलाई आवश्यक पर्ने औषधिको अभाव भएको छ । केन्द्रले औषधि पठाएको पटक–पटक जानकारी क्षेत्रलाई गराए पनि सम्बन्धित स्थानमा नपुग्दा बिरामीले सेवा पाउन नसकेको गुनासा आएका छन् । केन्द्रबाट ‘पानी शुद्धीकरण गर्ने पीयूष ट्याब्लेट, झाडापखाला लागेका बिरामीलाई दिइने रिंगर ल्याक्टेट, जिङ्क ट्याब्लेट, माक्सलगायत अत्यावश्यक औषधि नआएको स्वास्थ्यकर्मीको भनाई छ ।
स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले बाढी प्रभावित केही जिल्लाबाट औषधि अभावको खबर आएको जानकारी दिए । ‘केही जिल्लाबाट आवश्यक औषधिको अभाव भएको भन्ने खबर आएको छ,’ भण्डारीले भने, ‘कुन जिल्लामा कति औषधि छ, त्यसबारे जानकारी लिँदै छौँ । तत्काल ती जिल्लामा औषधि पुर्याउने छौँ ।’ उनले आपूर्ति व्यवस्था महाशाखाबाट सामान्य औषधि पठाएको बताउँदै बाँकी औषधि क्षेत्रीय मेडिकल स्टोरबाट पठाउने बताए ।
प्रभावित क्षेत्रमा आउन सक्ने महामारी रोग नियन्त्रणका लागि बाँकेमा २२ सय ३० जना, बर्दियामा २७ सय ३८ जना र दाङमा एक सय ८२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । केही बाढी प्रभावित नागरिकमा रुघाखोकी र ज्वरो देखिएको छ । औषधि अभाव हुने सक्ने अवस्थालाई मध्यनजर गर्दै केन्द्रबाट औषधि माग गरिएको छ ।