काठमाडौं, २, भदौ । ओलम्पियन पौडीबाज गौरिका सिंहले बिहीबार भएको ५० मिटर पौडी प्रतियोगितामा २९.४० सेकेन्डमा निर्धारीत दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बटरफ्लाई प्रतिस्पर्धामा गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी पोखरीमा उक्त पौडी खेल भएको हो । यसअघिको यो कीर्तिमान अर्की जलपरी सोफिया शाहको नाममा थियो । उनले सातौं राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । त्यसैगरी दुई सय मिटर फ्रि स्टायलमा पनि गौरिकाले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । १२ औं दक्षिण एसियाली खेलकुदमा सोभिया शाहले नै बनाएको २.१३.२२ सेकेन्डको कीर्तिमान गौरिकाले तोडेकी हुन् । उनले फाइनल चरणमा २.११.९४ सेकेन्डको नतिजा निकाल्दै राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
पुरुषतर्फको दुई सय मिटर ब्रेस्टस्टोकमा सशस्त्र प्रहरी बलका शुभम् श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले आफ्नै नाममा रहेको २.४२.६२ को पुरानो रेकर्ड तोड्दै २.३६.७५ सेकेन्डको कीर्तिमान राखे । शुभम्को पुरानो रेकर्डलाई मध्यमाञ्चलका किरण कार्कीले पनि तोडे । कार्कीले २.४२.१३ सेकेन्डको नतिजा निकाले । यसैगरी दुई सय मिटर महिला ब्रेस्टस्टोकमा सशस्त्र प्रहरी बलकी डुयना लामाले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् ।
विविधा रिमालले १० औं साग खेलकुदमा बनाएको ३.१२.८५ को कीर्तिमानलाई तोड्दै लामाले हिट चरणमा ३.०७.२२ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । नेपाल पौडी संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गौरिकाले त्रिभुवन आर्मी क्लबका तर्फबाट पाँचवटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा एक सय ४४ खेलाडीको सहभागिता छ ।