कुसे औंसी तथा पिताको मुख हेर्ने पर्व मनाइँदै

797
views

काठमाडौं ५, भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने पिताको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
आज पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई पिताको मुख हेर्ने पर्व मनाइँदैछ । दिवंगत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।
गोकर्णेश्वर, बेत्रावतीलगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीनरतीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।
आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ ।
यसैबीच आजै अर्थात् भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पाप मुक्त भइन्छ भन्ने मान्यता छ ।