बजारीकरणमा सरकारले चासो नदेखाएको केरा कृषकको गुनासो

1367
views

कैलाली, ४ भदौ । कैलाली र कञ्चनपुरका किसानहरुले सरकारले केराको बजारीकरणमा चासो नदेखाएको आरोप लगाएका छन् ।
नेपाली किसानले उत्पादन गरेका केरालाई प्रोत्साहन गर्नुको साटो भारतबाट आउने केरालाई सरकारी संरक्षण भईरहेको केरा किसानहरुको आरोप छ । नेपाल सरकारले किसानहरुका लागि विभिन्न अनुदानका कार्यक्रम घोषणा गरेपनि ती कार्यक्रमहरु लागू हुन नसकेको गुनासो किसानहरुले गरेका छन् ।
कैलाली र कञ्चनपुरका धेरै युवाहरुको केरा ब्यवसायतर्फ आकर्षण बढिरहे पनि सरोकारवाला निकायको लापरवाहीका कारण निरास बन्दै गएको व्यवसायीहरुले बताएका छन् ।
कैलाली र कञ्चनपुरमा केरा ब्यवसाय गर्ने किसानको संख्या १५ सयभन्दा बढीे छ । दुबै जिल्लामा किसानले १ हजार हेक्टरभन्दा बढी जमिनमा केरा खेती गरिरहेका छन् । प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर केरा खेतीका लागि उपयुक्त ठाउँ भए पनि सरकारको उदासिनताका कारण किसानहरु मारमा पर्ने गरेको केरा प्राविधिक टेकबहादुर सिंहले बताए । उनले सरकारले कैलाली र कञ्चनपुरलाई केराको पकेट क्षेत्र बनाउनु पर्ने मागसमेत गरे ।
केरा व्यवसायीहरुलाई राज्यले नै ठग्दै आएको कारण व्यवसाय फस्टाउन नसकेको व्यवसायीहरुको गुनासो छ । भारतीय बजारबाट विना चेकजाच गरेर ल्याईने फलफुल तथा तरकारीमा कडाई गर्न सके नेपाललाई केही वर्षमा फलफुल तथा तरकारीमा आत्मनिर्भर बनाउन सकिने केरा ब्यवसायी लक्षिराम आचार्यले बताए ।