बाढीले बगाएर भारत र्पुयाएको एकसिङे गैंडाको उद्धार गरी चितवन ल्याइयो

811
views

चितवन, भदौ ६ । बाढीले बगाएर भारत र्पुयाएको अर्काे दुर्लभ एकसिङे गैंडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।
बाढीले बगाएर भारतको वाल्मीकिनगरमा र्पुयाएको वयस्क गैंडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइर्पुयाइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

उनकाअनुसार सोमबार साँझ ’डार्ट’ गरेर नियन्त्रणमा लिइएको गैंडालाई मंगलबार बिहान चितवन ल्याइएको हो । यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गैंडा हो ।

बाढीले चितवन निकुञ्जबाट चारओटा गैंडालाई बगाएर भारत र्पुयाएकोमा तीनओटाको उद्धार भएको छ भने एउटा बच्चा गैंडाको उद्धारका लागि मंगलबार पनि प्राविधिकसहितको टोली भारतमा परिचालन भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
यसअघि गत आइतबार र साउन २ गते गरेर दुईओटा गैंडाको उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ ।
प्राविधिकहरुले बन्दुकमार्फत् डार्ट गरेर बेहोस बनाइ खोरमा राखी उक्त खोरलाई ट्रकमा राखेर गैंडालाई ल्याउँछन् ।
अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झन्डै ५० जनाको टोली गैंडाको उद्धारमा खटिएका छन् । पछिल्लो अनुगमनमा चितवन निकुञ्जमा ६०५ गैंडा रहेको तथ्यांक छ ।
उक्त गैंडामध्ये बर्दिया र शुक्लाफाँटामा एक दर्जनभन्दा बढी गैंडा स्थानान्तरण भइसकेका छन् ।
बाढीका कारण निकुञ्जमा केही चित्तल, एउटा गैंडालगायतका वन्यजन्तुसमेत मरेको पाइएको छ ।