प्रधानमन्त्री देउवा ४८ सदस्यीय उच्चस्तरीय टोलीसहित आज भारत जाने

589
views

काठमाडौं, भदौ ७ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली जाँदै छन् ।
नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा दिल्ली जान लागेका हुन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा हुने द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
बुधबार अपराह्न नयाँदिल्ली पुगेर उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।
बुधबार साँझ प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एसोसिएटेड चेम्बर्स अफ कमर्श एन्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
विहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुग्ने कार्यक्रम छ ।
विहीबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नेछन् भने त्यस लगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता हुनेछ ।
दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।
दुबै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।
विहीबार अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।
त्यसैगरी, उनीसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ
शनिबार अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम छ ।