राष्ट्रसंघद्वारा बलात्कार कानूनको सुधार गरेकोमा प्रशंसा

1871
views

जनेभा (स्वीट्जरल्याण्ड), ७ भदौ, । संयुक्त राष्ट्रसंघ मानव अधिकार प्रमुख जैयद राअद अल हुसैनले मंगलबार एक विज्ञप्ति जारी गरी लेबनान, ट्युनिसिया र जोर्डनमा रहेको बलात्कारीले पीडितलाई बिहे गरेमा ऊमाथि कानूनी अपराध नलगाउने प्रावधान हटाएकोमा यसको प्रशंसा गर्नुभएको छ ।
बलात्कारबाट पीडित भएका व्यक्तिलाई विवाह गर्न प्रोत्साहन गर्ने खालको उक्त कानूनका कारण पीडितमाथि ती मुलुकमा अन्याय हुने गरेको र यो गम्भीर अपराध भएको हुसैनले मंगलबार जारी गर्नुभएको एक विज्ञप्तिमा जनाइएको छ ।
विश्वको कुनै पनि मुलुकमा यस प्रकारको घृणित कानून नभएको बताउँदै उहाँले कानून पास गरेकोमा सम्बन्धित देशका सरकार तथा विधायकको प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभयो, “मैले लेबनान, ट्युनिसिया र जोर्डनले महिलामाथि हुने गरेका हिंसा उन्मूलनका लागि र यस्ता अपराधमा सम्लग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउने प्रयासलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु ।”
लेबनानले यही अगस्त १६ गते संविधानको धारा ५२२ को सजायसम्बन्धी कानूनी प्रावधानलाई खारेज गरेको थियो । जोर्डनले दुईहप्ता पहिले अगस्त १ र ट्युनिसियाले जुलाई २६ मा महिला हिंसासम्बन्धी यस्तै प्रावधानलाई संसदको बहुमतका आधारमा खारेज गरेका थिए ।