नेपाल आयल निगमले खरिद गरेको जमिनमा व्यापक अनियमितता भएको ठहर

1314
views

विर्तामोड, ७, भदौ । नेपाल आयल निगमले झापामा खरिद गरेको जमिनमा व्यापक अनियमितता भएको ठहर गरेको छ । संसदको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमनका लागि खटाएको सांसदहरुको टोलीले यस्तो ठहर गरेको हो ।
सांसद दिपक कार्की, रामवीर मानन्धर र समितिका अधिकृत प्रदीप गुरागाईंको टोलीले निगमले खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको थियो ।
प्रदेश नं १ मा इन्धन सञ्चय गर्ने उद्देश्यले निगमले मेचीनगर नगरपालिका वार्ड नं १३ साविक दुहागढी वार्ड नं ४ मा २४ विगाह खरिद गरेको थियो । उक्त जग्गा निगमले प्रति कठ्ठा १३ लाख ५१ हजार रुपैयाँका दरले खरिद गरेको थियो । तर अहिलेपनि चलन चल्तीको मूल्यमा त्यहाँ करीब पाँच लाख रुपैयाँ मात्र पर्ने स्थानीयबासी बताउँछन् ।
निगमले २०७२ पुस ५ गते टेण्डर आह्वान गरेर उक्त जग्गा खरिदको प्रक्रिया अगाडि बढाएको थियो । उक्त २४ विगाह जग्गामध्ये तीन विगाह जग्गा बेचेका जग्गाधनी भुपेन्द्र कार्कीले आफूले प्रति कठ्ठा चार लाख ४० हजार पाएको बताए ।
उनले भने, ’मेरो जग्गाको मूल्य त्यत्रो पर्ने पनि होइन । तर मैले निगमले खरिद गर्ने भनेर थाहा पाइन । मूल्य धेर पाएपछि मैले जग्गा बेचिदिएँ ।’ चलनचल्ती भन्दा धेरै मूल्य पाएपछि अन्य जग्गा धनीले पनि जग्गा बेचेको उनले बताए । सांसद दिपक कार्कीले निगमले चलन चल्तीको मूल्य भन्दा तेब्बर मूल्यमा खरिद गरेको पाइएको बताए ।