उत्तर कोरियाले अमेरिकी गतिविधिलाई हेरेर आक्रमणबारे निर्णय गर्ने

2188
views

एजेन्सी । कोरियाली प्रायद्वीपमा बढ्दो तनावबीच अमेरिका र दक्षिण कोरियाले वार्षिक रुपमा हुने सैन्य अभ्यासमा जुटेका छन् । उत्तर कोरियाले दुई देशबीचको सैन्य अभ्यासलाई ‘आगोमा घ्यु’ हालेसरह भएको टिप्पणी गरेको छ । अमेरिकाले यो सैन्य अभ्यासलाई रक्षात्मक भएको बताएको छ भने उत्तर कोरियाले आफ्नो देशमाथि हमलाको तयारीका रुपमा लिएको छ । सैन्य अध्यासको दक्षिण कोरियामा समेत विरोध भइरहेको छ । सोमबार यो सैन्य अभ्यासलाई लिएर केही प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । गत साता उत्तर कोरियाली मिडियाले प्रशान्त महासागरमा रहेको अमेरिकी द्वीप गुआममाथिको हमला रोकेको जनाएका थिए ।
यद्यपि उत्तर कोरियाले अमेरिकी गतिविधिलाई हेरेर आक्रमणबारे निर्णय गर्ने जनाएको थियो । जुलाईमा चीन र रुसले उत्तर कोरियालाई मिसाइल परीक्षण रोक्न र अमेरिका तथा दक्षिण कोरियालाई दक्षिण कोरियामा सैन्य गतिविधि नगर्न आग्रह गरेको थियो । तर अमेरिकी ज्वाइन्ट चिफ अफ स्टाफका चेयरमेन जोसेफ डनफोर्डले गत साता सैन्य अभ्यास कुनै स्तरको वार्ताको विषय नभएएको र अभ्यास योजना अनुसार नै हुने जनाएका थिए ।
सैन्य अभ्यासमा अमेरिकाका करिब १७ हजार ५ सय र दक्षिण कोरियाका ५० हजार सैनिकले सहभागिता जनाइरहेका छन् । यो अभ्यास १० दिनसम्म चल्नेछ । उत्तर कोरियाले गुआममाथि हमलाको धम्की र यस विषयलाई लिएर अमेरिका तथा उत्तर कोरियाबीच मिसाइल परीक्षणलाई लिएर चलिरहेको वाकयुद्ध चलिरहेका बेला सैन्य अभ्यास भएको हो । उत्तर कोरियाले यो सैन्य अध्यासलाई संवेदनशील रुपमा लिएको छ ।
उत्तर कोरियाको सरकारी अखबार ‘नोडोंग सिनमुन’ ले आइतबार आफ्नो सम्पादकीयमा सैन्य अभ्यासबाट अनियन्त्रित परमाणु युद्धको चेतावनी दिइएको छ । समाचार एजेन्सी योनहापले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनको हवाला दिँदै उत्तर कोरियाको यो सैन्य अभ्यासको बहानामा अवस्थालाई नियन्त्रणबाहिर लैजान नहुने जनाएको छ ।
अमेरिकी र दक्षिण कोरियाले हरेक वर्ष दुई चरणमा युद्धअभ्यास गर्ने गर्दछन् । यसमा सबैभन्दा ठूलो संख्यामा सैनिक र सैन्य सामग्रीको प्रयोग हुने गर्दछ । दुवै समयमा स्थल, जल र हवाई सैन्य अभ्यास हुने गर्दछ ।