सम्झौता वोनस फिर्ता माग्दै बार्सिलोनाद्वारा अदालतमा मुद्धा दायर

622
views

काठमाडौं । दुई साताअघि मात्रै कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका नेइमार विरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले अदालतमा मुद्धा दायर गरेको छ ।
बार्सिलोनाले नेइमारसँग नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्धा दायर गरेको हो । पीएसजी जानुभन्दा नौ महिना अगाडि नेइमारले बार्सिलोनासँग पाँच वर्षका लागि आफ्नो सम्झौता नविकरण गरेका थिए ।
बार्सिलोनासँग गरेको सम्झौता पूर्ण नभएकाले क्लबले नेइमारलाई दिएको बोनस फिर्ता मागेको बताएको छ । बार्सिलोनाले नेइमारसँग ८५ लाख युरो फिर्ता मागेको छ । नेइमारसँग बार्सिलोनाले पैसा फिर्ता गर्न ढिलाई गरेको भन्दै १० प्रतिशत थप रकम मागेको छ । बार्सिलोनाले यदि नेइमारले त्यो रकम तिर्न नसकेमा यसको जिम्मेवारी पीएसजीलाई लिन आग्रह गरेको छ ।
तर पीएसजीले भने बार्सिलोनाको व्यवहारबाट अचम्ममा परेको बताएको छ । पीएसजीले नेइमारले सबै कानुनी प्रक्रिया पालन गरेर नै आफूहरुकोमा आएको भन्दै बार्सिलोनाको व्यवहारप्रति पश्चाताप व्यक्त गर्नुबाहेक केही गर्न नसकिने जनाएको छ ।
बार्सिलोनाले अगस्ट ११ मा बार्सिलोनाको लेबर ट्रिब्युनलमा नेइमारविरुद्ध मुद्धा दर्ता गरेको छ । पिएसजी गएसँगै बार्सिलोनाले नेइमारको २६ मिलियन लोयल्टी बोनस पनि रोकेको छ ।
नेइमारले भने आइतबार तुलुजसँगको खेलमा पिएसजी ६–२ ले विजयी भएपछि बार्सिलोनाका निर्देशकको आलोचना गरेका थिए ।
उनले भनेका छन्, ‘मैले बार्सिलोनामा चार वर्ष खुशीसँग बिताए पनि बोर्डसँग म खुशी थिइन । मेरो विचारमा ती मान्छे बार्सिलोनाको बोर्डमा बस्न उपयुक्त व्यक्ति होइनन् । बार्सिलोनाले अझ राम्रा व्यक्तिको आश गरेको छ ।’