काठमाण्डौं । इंग्ल्याण्डका चर्चित स्ट्राइकर एवं ३१ बर्षिय वायन रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् । प्रशिक्षक गारेथले रुनीलाई विश्वकप छनौट चरण अन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको खेल खेल्न आग्रह गरेका थिए । ‘प्रशिक्षक गारेथले मलाई यसै साता बोलाउनु भएको थियो, उहाँले मलाई इङ्ल्याण्डको टिममा फेरि लिन चाहनु भएको थियो । म उहाँको प्रशंसा गर्दछु,’ रुनीले भनेका छन् ‘यो मेरालागि निकै कठिन निर्णय हो, मैले आफ्नो परिवार, एभर्टनमा मेरो म्यानेजर र मेरा निकटम मित्रहरुसँग यसबारे सल्लाह गरेँ ।’
यसै सिजन इंग्ल्याण्डको क्लब एभर्टनमा आबद्ध भएका रुनीले भने, ‘मलाई जहिले पनि एक खेलाडी वा कप्तानका रुपमा चुनियो, त्यतिबेला मैले आफूलाई भाग्यशाली ठानेँ । म उहाँहरु सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मलाई सहयोग गर्नुभयो ।’ उनले इंग्ल्याण्डका लागि खेल्नु सदैव आफ्नो लागि विशेष रहेको जनाउँदै उनले अब विदा लिने समय भएको बताएका छन् । उनले ११९ अन्तराष्ट्रिय खेल खेल्दै आफ्नो देशका लागि ५३ गोल गरेका छन् । उनले सन् २००३ मा अस्ट्रेलियाविरुद्धको खेलमा इंग्ल्याण्डका तर्फबाट अन्तर्रा्ष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।