बाढी प्रभावित क्षेत्रमा डब्लुएफपीद्वारा खाद्यान्न वितरण

1999
views

काठमाण्डौ, ११, भदौ । नेपालका बाढीपीडितलाई संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले खाद्यान्न वितरण सुरु गरेको छ ।
स्थानीय निकायसँगको समन्वयमा नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण शुरु गरेको हो । सप्तरी, रौतहट, बाँके र बर्दियामा दुई साताका लागि पुग्ने गरी चामल र दाल वितरण गर्न शुरु गरेको डब्लुएफपीका सञ्चार अधिकृत सीताष्मा थापाले जानकारी दिनुभयो । साथै स्थानीय बजार पुनःस्थापन भइसकेका क्षेत्रमा रहेका रौतहट जिल्लाका थप ४० हजार विस्थापितलाई खाद्यान्न खरिदका लागि नगद प्रदान गरिने उहाँले बताउनुभयो ।
डब्लुएफपीले कुपोषणबाट बचाउनका लागि सरकार तथा अन्य साझेदार संस्थासँगको सहयोगमा बाढी प्रभावित १३ जिल्लाका १९ हजार ५०० गर्भवती तथा सुत्केरी महिला र छदेखि २३ महिनासम्मका २७ हजार ७०० बालबालिकाका लागि थप २०० मेट्रिक टन प्रशोधित खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।