‘हुरीकन हार्भी’ ले अमेरिकाको ह्युष्टनमा ठूलो बाढी, नेपाली पनि विस्थापित, ४५ सय कैदी सारिए

2012
views

काठमाण्डौ । समुद्री आँधीले गर्दा अमेरिकाको चौथो ठूलो शहर ह्युष्टनमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीका कारण आइतबार रातीसम्म पाँचजनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी घाइते भएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।
समुद्री आँधी ‘हुरीकन हार्भी’ ले बाढी पसेको ह्युष्टन शहर अमेरिकाको चौथो ठूलो शहर हो, जहाँ करीब पन्ध्र हजार नेपाली रहेको अनुमान छ। बाढी र भारी वर्षाले नेपालीहरू हताहत नभएपनि विस्थापित भएका छन्। नेप्लिज एसोसोसिएन अफ ह्युस्टनका महासचिव विष्णु नेपालका अनुसार ह्युस्टनका केही नेपालीका घरमा पानी जमेपछि उनीहरू विस्थापित भएका हुन् ।
विस्थापित भएका केही नेपाली परिवार होटलमा बसेको नेपालले जनाए। नेपाली प्रभावित भएको यो प्रारम्भिक आँकडा मात्र हो, वर्ष भइरहेको छ र विवरण आउने क्रम जारी छ ।
तर बाढीले ह्युष्टनको अधिकांश ठाउँलाई क्षत बिक्षत बनाए पनि मानवीय क्षती भने कम भएको जनाइएको छ। त्यसैले नेपाली पनि धेरै प्रभावित नभएको अनुमान छ । ‘बाढीले घरहरुमा क्षती पुर्याए पनि अहिलेसम्म खासै मानवीय क्षती भएको छैन, नेपालीको मृत्यु भएको वा घाइते भएको जानकारी आएको छैन’, ह्युष्टनमा पसल सञ्चालन गर्ने एक जना नेपालीले भने, ‘पूर्व सचेतता अपनाइएकाले अधिकांश नेपाली सुरक्षित नै रहेका छन् ।’
टेक्सास राज्यस्थित समुन्द्र तटीय क्षेत्रमा शुक्रबार अपरान्हबाट आएको डरलाग्दो आँधी ‘हुरीकन हार्भी’ र त्यसपछि निरन्तर भैरहेको भारी वर्षाका कारण ह्युष्टनमा ठूलो बाढी आएको हो ।
बाढीका कारण ह्युष्टनका सडकहरु नदीमा परिणत भएका छन्। मोटर चल्ने सडकमा अहिले उद्धारकर्ताहरुले डुंगा र मोटरबोटहरु चलाइरहेका छन् ।
सडकमै गाडीहरु पानीले ढाकिएका छन् भने घर, पसल र कार्यालयहरुमा बाढी पसेको छ। ह्युष्टनको अती व्यस्त बुश अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्द गरिएको छ । कतिपय अस्पतालहरु पनि खाली गरिएका छन्। ३ लाख नागरिक बिजुलीबाट बञ्चित भएका छ ्।
उद्धारका लागि डुंगाहरु उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले उद्धारका लागि तीन हजार नेशनल गार्ड प्रयोग गरिएको बताएका छन्। गभर्नर एबोटका अनुसार, उद्धारमा १४ वटा एअरक्राफ्ट र पाँचसय वटा विशेष खालका मोटरहरु प्रयोग गरिएको छ ।
भारी वर्षा अझै जारी छ। बुधबारसम्म वर्षा जारी रहने र ह्युष्टनले अझ डरलाग्दो बाढीको सामना गर्नुपर्ने चेतावनी मौसमवीदहरुले दिएका छन् ।
पचास इन्चसम्म वर्षा हुने अनुमान गरिएको छ। बाढीको रुप निकै डरलाग्दो भएपनि बेलैमा सचेत गराइएको र सुरक्षित स्थानमा जान भनिएका कारण ठूलो मानवीय क्षती भने हुन पाएको छैन । सुरक्षा निकाय तथा उद्धारकर्ताहरुको पहिलो प्रयास मानवीय क्षती हुन नदिनेमा बढी केन्द्रित छ । मंगलबार राष्ट्रपती डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने ह्वाइट हाउसले जनाएको छ ।
४५ सय कैदी सारिए
बाढीका कारण ह्युष्टनको दक्षिणतर्फका केही ठाउँका जेलहरुबाट कैदीलाई अन्यत्र सारिएको छ । ह्युष्टनको दक्षिणमा पर्ने राम्से, टेरेल र रोशारनका जेलबाट ४५ सय कैदीलाई सुरक्षित स्थानमा सारिएको टेक्सास डिपार्टमेन्ट अफ क्रिमिनल जस्टिसले जनाएको छ। जेलको नजीकै पर्ने ब्रोजोस नदीमा पानीको सतह १५ फिट बढेको र बढ्ने क्रम जारी रहेकोले त्यहाँका जेलहरुबाट कैदीलाई अन्यत्र सारिएको अधिकारीहरुले बताएका छन् । गत शुक्रबार अपरान्हदेखी आएको हुरीकन हार्भीले टेक्सास राज्यको समुन्द्र तटीय क्षेत्र रकपोर्ट, कर्पस क्रिष्टी, ग्यालबस्टन जस्ता ठाउँमा अधिकाँश संरचनाहरु ध्वस्त बनाएको छ । ती ठाउँहरुमा हुरीकन हार्भीका कारण मानवीय क्षती भने नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । नेपालखबरबाट