यस्तो छ देजमोको निर्णय, प्रदेश नं २ मा नेता छान्दै

1094
views

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले स्थानीय तह निर्वाचन उपयोगको नीति अन्तर्गत प्रदेश नम्बर २ का जिल्लाहरुमा कार्यक्रमिक गतिविधिहरुलाई तिव्रता दिएको छ । सोही अनुसार तेस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने तराईका ८ जिल्लामा देजमोले विविध प्रकारका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
तराईका जिल्लाहरुमा स्थानीय तहको निर्वाचनको तयारीस्वरुप आन्तरिक संगठन परिचालन र प्रशिक्षणका कार्यक्रम भइरहेको देजमोका कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिए ।
अभियानमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर २ का संयोजक कृष्णदेव सिंह दनुवार, देजमोका कार्यालय सदस्य तथा २ नम्बर प्रदेशका संयोजक कमल चौधरी, देजमोका सचिवालय सदस्य तथा कार्यालय सचिव हरिकृष्ण गजुरेललगायत जिल्लाका विभिन्न तह र तप्कामा रहेका नेताहरु खटिएका छन् । प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
पार्टीको चुनाव उपयोगको नीति अन्तर्गत सम्बन्धित स्थानीय तहमा उम्मेदवार चयनका काम समेत अघि बढाइएको छ । उम्मेदवार चयनका लागि जिल्ला–जिल्लामा बैठकहरुको आयोजना गरिएको छ । कतिपय स्थानमा उम्मेदवारहरु ठोस गरिएको छ ।
सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा बलराम न्यौपाने र सप्तरीको सुरुङ्गा नगरपालिकाको मेयरमा अछ्मित चौधरीलाई उठाउने निश्चित भएको छ भने बाँकी स्थानहरुमा उम्मेदवार चयन गर्न बाँकी रहेको छ ।