अखण्ड पार्टीलाई एमालेमा मिसाउँदै ओलीले भने आउँदो चुनावपछि माओवादीको नाम लिनु पर्दैन

1360
views

पोखरा, १६ भदौ– अखण्ड नेपाल पार्टीका अध्यक्ष र उपाध्यक्ष बाहेक सो पार्टीको सम्पूर्ण संजाल एमालेमा समाहित भएको छ । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का मन्त्री बन्न गएपछि उक्त पार्टीका सबै पदाधिकारी एमाले प्रवेश गरेका हुन् । शुक्रवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त पार्टीका सबै पदाधिकारीहरुलाई एमालेमा स्वागत गर्नुभएको थियो । उक्त समारोहमा एमाले अध्यक्ष ओलीले गरेको सम्बोधनको अंश–
कांग्रेस बगेर कहाँ मिसिन्छ ?
हिजो बहुमतमा भएको कांग्रेस, ०६४ मा अत्यधिक सिट ल्याएको माओवादी, यो सबै कहाँ गयो ? हामी खोला बग्यो भन्छौं । बगेर पनि त्यो सिद्धिएको त हुँदैन, त्यो कतै मिसिएको हुन्छ । कांग्रेस बगेर कहाँ गयो, माओवादी बगेर कहाँ गयो भन्दा खोला जसरी बगेर सागरमा जान्छ । नेकपा एमाले महासागर हो । त्यहिँ पुग्ने हो । किनभने एमालेले समग्र देशको प्रतिनिधित्व गर्छ । एमालेमा आउने साथीहरुलाई ढुक्क रहन आग्रह गर्छु । यहाँ भित्र अनुशासन छ । म पार्टीको सर्वाेच्च पदमा छु । तर, मैले जे मन लाग्यो यहाँ त्यही चल्दैन । मलाई नियन्त्रण गर्ने नियमहरु छन्, मलाई नियन्त्रण गर्ने कमिटीहरु छन् । मैले ठिकै कुरा राख्छु होला तर, कमिटीमा राखेर निर्णय गर्नुपर्छ । म आफ्नैलाई मेयरको उम्मेदवार, उपमेयरको उम्मेदवार तोकिदिन सक्थेँ होला । तर, पाउँदिन । त्यसको आफ्नै प्रक्रिया छ । यहाँ स्वेच्छाचारित चल्दैन । तपाईंहरु आज छोडेर आउनु भएको पार्टी, त्यसको अध्यक्ष कुन निर्णयले मन्त्री खान गयो, तपाईंहरुले पत्तै पाउनु भएन । एमालेमा त्यसो गर्यो भने त्यो एमाले रहंदैन । एमालेबाट प्रधानमन्त्री हुन्छ भने पार्टीले निर्णय गरेर हुन्छ, अरु प्रक्रियाबाट हुँदैन । मन्त्री हुन्छ भने पार्टीको निकायले निर्णय गरेर हुन्छ आफैं हुँदैन । एमालेमा अनुशासन हुन्छ, नियम हुन्छ, विधि हुन्छ, त्यस अनुसार हुन्छ । विनाविधि यत्रो लाखौं कार्यकर्ता कसरी चल्थ्यो । एउटा विचार, अर्काे विधि । हामी विचार र विधिबाट बाँधिएका हुन्छौं । तपाईहरु यस पार्टीमा आएपछि आत्म सन्तुष्ट हुन सक्नुहुन्छ कि मैले देशका लागि काम गरेको छु, लोकतन्त्रका लागि, समृद्धिका लागि काम गरेको छु ।
एमाले यस देशमा राष्ट्रियताको रक्षा गर्ने, शान्तिको पक्षमा उभिने, सामाजिक न्यायको पक्षमा उभिने, एकताका साथ राष्ट्रियतालाई मजबुत बनाउने, लोकतन्त्रको रक्षा गर्ने र विकासका काम अघि बढाउने उद्धेश्यमा छ । लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय, राष्ट्रिय स्वधीनता, समृद्धि हाम्रा पाँचवटा सवाल हुन् । हाम्रा सम्पूर्ण नीति र ब्यवहारहरु यस प्रयासमा निर्दे्शित छन् । हामी कुनै देशका विरुद्ध होइन, हामी हाम्रो हितका पक्षमा छौं । कसैबाट हेपिनु हुँदैन भन्ने पक्षमा छौं ।
अखण्ड भनेर बिखण्डनसँग सट्टापट्टा
हामी कति अप्ठ्यारोमा छौं, यहाँहरुले देख्न सक्नुहुन्छ । घेराबन्दी छ एमालेका विरुद्ध । तर, हामी प्रसन्नचित्तमा छौं । प्रसन्नचित्त यसकारण छौं कि दुःखी छैनौं । घेराबन्दी त हुन्छ । मोर्चाबन्दी त हुन्छ । खराव शक्तिहरु एकठाउँमा आएर सहीलाई समाप्त पार्न खोज्छन् । तर, हामी सही विचार, सही नीति र सही बाटोबाट सही काम गरिरहेका छौं । त्यसैले हामी प्रसन्न छौं । एमालेमा आएका साथीहरुलाई भन्छु, तपाईंहरुले नराम्रो काममा सरिक हुनु पर्दैन । तपाईंहरुले झुठो बोल्नु पर्दैन । तपाईंहरुले बेइमानी गर्नु पर्नेछैन । तपाईंले कालोलाई सेतो भन्नु पर्नेछैन । सेतोलाई कालो भन्नुपर्ने एमालेमा हुँदैन । राजनीतिका नाममा, पार्टीका नाममा एकथोकलाई अर्काेथोक भन्नु पर्ने समस्या एमालेमा छैन । एमाले सेतोलाई सेतो र कालोलाई कालो भन्ने हिम्मत राख्छ । एमाले लोकतान्त्रिक आचरण र अभ्यासमा विश्वास राख्छ, किनभने लोकतन्त्र यसले लडेर ल्याएको हो । त्यसमा एमालेले खेलाची गर्दैन ।
हामी गत बर्रषतिर पार्टी एकता गरेका हुन्थ्यौं । देशलाई अखण्ड राख्ने उद्धेश्यले अखण्ड पार्टी खोलियो । तर, त्यस पार्टीका अध्यक्ष विभाजनकारी उद्धेश्यले, पहाड र तराईलाई छुट्याउने, नेपाललाई कमजोर पार्ने उद्धेश्य बोकेका शक्तिहरुसँग मन्त्री पद लिएर पार्टीका उद्धेश्य सट्टापट्टा गर्न जानुभयो । अखण्ड उद्धेश्य र अखण्ड नामलाई तिलाञ्जली दिन जानुभयो । यति सानो देश छ, विशाल देशको नागरिकता नत्यागिकनै, त्याग्ने प्रक्रिया आरम्भ गर्नासाथ यहाँको नागरिकता पाउनु पर्यो । नागरिकता पाउनासाथ यहाँको राष्ट्रपति प्रधानमन्त्री हुन पाउनु पर्यो । राष्ट्रिय हित विपरितको यो भन्दा निर्लज्जता के हुन्छ । नेपालमा कोही जन्मेको छैन, नेपाल बाँझै छ, सबै बाहिरबाट आएर चलाउनु पर्छ भन्नेजस्ता विचार राख्ने यहाँ छन् । नेपाली हौं भन्नेहरु नेपालका लागि राजनीति गर्छाैं भन्नेहरु यहाँ त्यसै चुप लागेर बस्न मिल्छ ? नेपालको हितको रक्ष र हितको प्रतिनिधित्वको गर्नुपर्छ कि पर्दैन ? राष्ट्रियता भनेको सीमाना मात्रै होइन, दशगजा मात्रै होइन । राष्ट्रिय हित विरुद्धमा अध्यक्ष नै गएपछि साथीहरुले उहाँलाई छोडेर आउने निर्णय गर्नुभयो । मन्त्री हुने लोभ रहेछ उहाँलाई, मन्त्री भइहाल्नु भो, अव त सप्रिनुस् । आउनुस् एमालेमा । एउटा गीत छ नि, म प्यार बेचिदिन्छु, हार बेचिदिन्छु, को के किन्छ त्यही बेचिदिन्छु । त्यस्तै मन्त्री पाए सवै बेचिदिन्छु । त्यसो गर्नुहुँदैन अव ।
चन्द्रमा उभ्याइदिन्छु भन्नेहरु पोखरीको भकुण्डोजस्तै भए
हिमाल पहाड तराई भएको देश छ । यहाँ १२५ भाषाभाषी जातजाति छन् । यहाँ द्वन्द्व फैलाउन र साम्प्रदायिक विद्वेष मच्चाउन जातीय पहिचानका नाममा यस्तो वितण्डाको आयोजना गरिएको थियो । नेपालमा अस्तब्यस्ता मच्चिएको बेला अखण्डताको पक्षमा उभिने भनेर अखण्ड पार्टी खडा भयो । यद्यपि त्यो जरुरी थिएन एमाले छंदैथियो । त्यो साम्प्रदायिक विद्वेष र रुवाण्डा बनाउने प्रयासलाई ललकार्यो । तर, संसदमा गएपछि यत्रो इतिहास भएको पार्टी नेपाली कांग्रेस त जता मल्खु उतै ढल्कु गर्दाे रहेछ भने एकजना सांसद भएको पार्टीलाई के फरक पर्यो भन्ने पर्यो होला । यत्रो ठूलो क्रान्ति गर्दिन्छु, चन्द्रमाका ठाउँमा पृथ्वी पुर्याइदिन्छु, पृथ्वीका ठाउँमा चन्द्रमा उभ्याइदिन्छु भन्ने माओवादी पोखरीको भकुण्डो जस्तो ओल्लोछेउ र पल्लोछेउ गर्छ भने एक सिट भएको पार्टीलाई के भो र भन्ने पर्यो होला । तर, आज तपाईंहरुले ठीक बाटो लिनुभयो ।
एमाले यस देशमा राष्ट्रियताको रक्षा गर्ने, शान्तिको पक्षमा उभिने, सामाजिक न्यायको पक्षमा उभिने, एकताका साथ राष्ट्रियतालाई मजबुत बनाउने, लोकतन्त्रको रक्षा गर्ने र विकासका काम अघि बढाउने उद्धेश्यमा छ । लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय, राष्ट्रिय स्वधीनता, समृद्धि हाम्रा पाँचवटा सवाल हुन् । हाम्रा सम्पूर्ण नीति र ब्यवहारहरु यस प्रयासमा निर्दे्शित छन् । हामी कुनै देशका विरुद्ध होइन, हामी हाम्रो हितका पक्षमा छौं । कसैबाट हेपिनु हुँदैन भन्ने पक्षमा छौं ।

कांग्रेस एमालेबीच संघर्ष, माओवादी तराजुमा
नेपालमा अहिले दुईवटा प्रबृत्तिबीच संघर्ष चलिरहेको छ । एकातिर राष्ट्रिय हितको पक्षमा एमाले उभिएको छ, अर्काेतिर राष्ट्रिय हित जेसुकै होस् सत्ता स्वार्थ पूरा गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस उभिएको छ । लोकतन्त्र भन्ने कुरा हो, लोकतन्त्र जप्ने कुरा हो, गर्ने भनेको त आफ्नो फाइदाको कुरा हो भन्ने कांग्रेस एकातिर र लोकतन्त्रलाई सामाजिक जीवन पद्दतिका रुपमा अपनाउने एमाले अर्काेतिर छ । यसका बीचमा लडाईं छ । मौका पर्दा साम्प्रदायिक विद्वेष बोकेर हिंड्ने, जहाँ जुन जाति छन् त्यसै प्रकारको भाषण गर्ने अर्काेथरी छ । यसो हेर्यो, एकठाउँमा एक प्रकारका मान्छे देखिए भने त्यस्तै कुरा गर्यो ताली खायो, अर्काे ठाउँमा गएर त्यसै कुराको विरोध गर्यो । तर, नेकपा एमाले एउटै कुरा गर्छ । सही कुरा मात्रै गर्छ, यता को देखियो उता के देखियो त्यस अनुसार कुरा गर्ने पार्टी होइन । कांग्रेस समृद्धिका कुरा गर्ने तर, आफ्नो समृद्धिको । हामी समृद्धिका कुरा गर्ने जनताको । अरु पार्टी भनेको यता लाग्ने कि उता लाग्ने । यी कुनै ढक होइनन् । अरु त ढकमा थप्ने चाबुक मात्रै हुन् । कांग्रेसतिर लाग्यो भने कांग्रेसतिर भारी देखिने, अर्काेतिर भारी देखियो भने बरुक्क उफ्रेर अर्काेतिर लाग्ने । कुन तराजुमा चढ्न पाइन्छ त्यही तराजुमा चढ्ने । पार्टीगत रुपमा अहिले दुईटा पक्षका बीचमा लडाईं छ, त्यसमा एमाले र कांग्रेस नै हुन् । माओवादीको नाम लिएन भन्ने पर्ला । माओवादीको नाम चुनावसम्म लिनुपर्छ । चुनावपछि सायद कसैले किन नाम नलिएको भन्दैन होला । अथवा अलिकति समय बढी लाग्न पनि सक्छ । माओवादी पार्टी वैचारिक रुपले विघटन भइसक्यो । माओवादी पार्टीको केही विचार थाहा पाउनु भएको छ ? महान जनयुद्ध भन्थ्यो, सशस्त्र क्रानित भन्थ्यो, उलटफेरका कुरा गथ्र्याे, त्यो त सकियो । केचाहिँ निम्तियो त ? फेरि फागुन १ गते मनाउँदैछ, किन मनाएको हो ? असफलताको स्मृति, त्यो जनयुद्धको श्रद्धाञ्जलीसभा ।
विरालो पाल्नु पर्दैन, दूधभात खान दिए तपाईंकैमा बस्छ
माओवादीको संगठन ? के छ माओवादीको संगठन ? चारहजारको केन्द्रीय समिति, दुनियाँको इतिहासमा कहिँ सुन्नुभएको छ ? केन्द्रीय कमिटीको बैठक बस्दैन, बैठक बस्ने ठाउँ काठमाडौंमा पनि छैन । कत्रो ठूलो पार्टी ? दुनियाँमा त्यत्रो पार्टी छैन । चिनियाँ कम्युनिस्ट पार्टी ८ करोड पार्टी सदस्य छन् । स्थायी समिति छ ७ जनाको । माओवादीको केन्द्रीय कमिटी छ ४ हजार जनाको पार्टी केही पनि छैन । तपाईं बजार जानु भो र त्यही पार्टीमा छु भन्नु भयो भने ठीकै छ, केन्द्रीय सदस्य । उसको उद्धेश्य चाहिँ एमालेका विरुद्ध, योसँग मिलेर, एमालेका विरुद्ध त्योसँग मिलेर मोर्चाबन्दी गर्ने मात्रै हो । एमालेका विरुद्ध को को छन् तीसँग मिलेर, एमालेलाई देखाउनका लागि मात्रै । मैले एमालेका अगाडि खाएको देखाउनु पर्यो, एक टुक्रा दिनुस् न खाउँ भनेर कति दिन चल्छ ? केही छैन माओवादी, त्यो वस्तुतः विघटन भइसक्यो । तपाईहरुलाई लाग्ला बामपन्थी पार्टी । भारतले जे जे भन्छ त्यसका पछि पछि कुद्ने, विदेशीले जे जे भन्छ त्यसको पछि कुद्ने । देशको हितका पक्षमा मरिगए नउभिने, सिद्धान्त, विचार, संगठन केही पनि नहुने । जहाँ फाइदा हुन्छ त्यतै कुद्ने । एउटा भनाई छ नि– विरालो पाल्नु पर्दैन, विरालोलाई दूध र भात दिनुस् त्यो विरालो उता बस्न छोडेर यतै बस्छ । मैले कुनै पार्टीलाई भनेको छैन, मात्रै विरालोको चरित्र भनेको हुँ ।
मंसिरमा छोराछोरी नाच्छन्
हामी मंसिर महिना पर्खिराखेका छौं । छोराहरुलाई सर्टपाइन्ट किन्दिए हुन्छ, छोरीहरुलाई फ्रक किन्दिए हुन्छ । चुनावपछि नाच्छन् छोराछोरी । देशैले अविरजात्रा मनाउनेछ । जसले टाउको दुखाओस्, एमालेको विजययात्रालाई कसैले रोक्न सक्दैन । हामीले भन्दिएका छौं, एमाले विरुद्ध मिल्नेहरु मिल । पार्टीको चुनाव चिन्ह भएको टोपी एकजनाले ल्याएर माधव नेपाललाई लगाइदियो, कसैले आएर फोटो खिच्यो । निर्वाचन आयोगले निर्वाचन आचरण विपरित देख्यो । माधव नेपाल गएको कार्यक्रममा बाटैदेखि ढुंगामुढा गरेको छ, झण्डा देखाएको छ, कुचो देखाएको छ, लौरो देखाएको छ । कार्यक्रमस्थलमा ढुंगा हानेको छ, माधव नेपाललाई धन्न लागेन । यसलाई चाहिँ निर्वाचन आयोगले आचरण विपरित देखेन । टोपी लगाएको चाहिँ आचरण विपरित रे । त्यो पनि भन्दा हुने कुरा । ठीक छ हामी टोपी नलगाई हिंडौंला केही छैन । जनताकै मनमा सूर्य चिन्ह छ, हामी टोपीका लागि किन मरिहत्ते गर्ने ? मौका कत्रो परेको ? एउटाले टोपी लाइदियो, फ्याट्ट फोटो खिचेर बाहिर गयो । २४ घन्टे स्पष्टिकरण । ठीक छ टोपी लगाएकोमा पत्र काट्नुस् । ढुंगामुढा गरेकोमा पत्र काट्नुभयो ? म भन्न चाहन्छु नेकपा एमाले चुनावको मैदानमा फ्रिस्टाइलमा जान्छ । सरकारले धाँधली गरेको गर्यै छ । १० गतेलाई तोकेको चुनाव २१ गते सार्नु धाँधली होइन ? किनभन्दा त्यसबीचमा बाक्सा साट्ने समय राखिदिएको । बाक्सा साटेर देखाउ, कसरी साट्छौ ? यतिबेला स्थानीय तहका निकायहरु बढाइदिएको छ । त्यो भन्दा बढी जनसंख्या भएका ठाउँमा थोरै संख्या छ । क्षेत्र निर्धारण गर्दा जहाँ जहाँ एमाले बलियो छ, घुमाएर क्षेत्र घटाइएको छ । प्रदेश नम्बर २ मा एमालेलाई दोस्रो बनेर देखाओस् । प्रभुको आशिर्वाद लिएर जिताएर देखाओस् । एमाले पहिलो पार्टी हो । एमालेले काम गरेको छ, जित्छ ।
चुनावपछि एमालेले सातै प्रदेशका सरकार बनाउँछ । कसैलाई ओलीको कमब्याक डिजास्टर लागेको छ । यस्ता बहस बाहिर बाहिर हुन थालेका छन् । यहाँ गठबन्धन उनीहरुले बनाइदिएका छन् । उनीहरुले बुझ्ने भाषामा भन्छु, हामी कसैको विरुद्ध छैनौं, हाम्रो देश बनाउने पक्षमा छौं । हामी जित्छौं ।