केन्याको राष्ट्रपतिय निर्वाचनको नतिजा सर्वोच्च अदालतद्वारा बदर

1926
views

काठमाण्डौ, १६, भदौ । केन्यामा गत महिना भएको राष्ट्रपतिय निर्वाचनको नतीजालाई त्यहाँको सर्वोच्च अदालतले बदर घोषणा गर्दै नयाँ चुनाव ६० दिनभित्र गर्न आदेश दिएको छ ।
उक्त फैसला अफ्रिकाको इतिहासमै अभूतपूर्व मानिएको छ । ६ जना मध्ये ४ जना न्यायाधीशले निर्वाचन अवैध भन्दै त्यहाँको चुनाव आयोगले संवैधानिक तवरले निर्वाचन नगराएको जनाएको छ ।
वरिष्ठ नेता राइला ओडिंगाको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले यसअघि उक्त निर्वाचन झेलपूर्ण गरिएको भनेको थियो । फैसलाप्रति प्रतिक्रिया दिंदै ओडिंगाले चुनाव आयोगका सदस्यहरुले केन्याली जनताका विरुद्ध ठूलो अपराध गरेको भन्दै तिनलाई जेल हाल्नु पर्ने बताए ।
यसअघि निर्वाचन लगत्तै चुनाव आयोगले राष्ट्रपति उहुरु केन्याटालाई १४ लाख भोटको अन्तरले विजेता घोषित गरेको थियो ।