हराइरहेका आर्जेन्टिनीबारे हजारौंको प्रदर्शन

2001
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १७, भदौ । हजारौं आर्जेन्टिनीहरु एकजना मानव अधिकारवादी अभियानकर्ता हराएकोमा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन् । स्यान्टियागो म्याल्डोन्याडो, २८, एक महिना अघि प्याटागोनियामा भएको आदिवासी अधिकार सम्बन्धी प्रदर्शनका बेलादेखि हराइरहेका छन् ।
मानव अधिकार अभियानकर्ताहरु, युनियन नेताहरु र बामपन्थी समुहहरुले मौरिसियो म्याक्रीको सरकारलाई ती अभियानकर्ताको खोजीमा थप प्रयत्न गर्न आग्रह गरेका छन् । प्रत्यदर्शीहरुले म्याल्डोन्याडो अगष्ट १ तारिख दक्षिणी आर्जे्न्टिनामा मापुचे आदिवासी समुहको अधिकारका लागि आयोजित विरोध प्रदर्शनमा गिरफ्तार भएको देखेको बताएका छन् । स्यान्टियागो म्याल्डोन्याडो अगष्ट १ तारिखदेखि हराइरहेका छन् ।
प्रहरीले उनलाई थुनामा राखेको अस्वीकार गरेको छ । म्याल्डोनाडोका भाइ सेर्गियोले राजधानी ब्युनोस आयरिजमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गरेका थिए । उनले भने, “स्यान्टियागो हराएको एक महिनासम्म पनि सरकारले अस्वीकार गरिरहेको छ। उसले स्यान्टियागोका साथीभाइ र परिवारलाई मात्र प्रश्न गरेको छ ।“ उनले त्यस दिन उक्त क्षेत्रमा कार्यरत सबै प्रहरीमाथि स्वतन्त्र अनुसन्धान गर्न माग गरे ।
हराइरहेका अभियानकर्ताको तस्बिर, उनी कहाँ छन् भन्ने प्रश्न सहित आर्जे्न्टिनाका टिसर्टहरु र पोष्टरहरुमा छापिएका छन् ।
आर्जे्न्टिनी सुरक्षा फौजको धमिलो इतिहासले उनको अपहरण गरिएको या उनी मारिएका हुनसक्ने कतिपयले ठानेका छन् । तर आर्जे्न्टिनी सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले चालीस वर्ष अघिको सुरक्षा फौज र अहिलेको सुरक्षा फौजमा फरक रहेको बताइन् । सरकारले उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई झण्डै तीस हजार डलर पुरस्कार दिने घोषणा गरेको छ । विविसी