मुलुकको ‘जीवनरेखा’ को रुपमा छ तराई मधेश–प्रचण्ड

2137
views

काठमाडाैं, २०, भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराईलाई केन्द्रित गर्न सक्ने शक्ति आफ्नो पार्टी मात्रै भएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता शिवपूजन यादवसहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले ‘नेपालमा अन्धराष्ट्रवादको नाममा अतिवाद हाबी भएकाले’ त्यसलाई खारेज गरेर मुलुकलाई एकीकृत गर्न सक्ने क्षमता र तागत माओवादी केन्द्रसँग मात्रै भएकाे बताउनुभयो ।
उहाँले अन्धराष्ट्रवादका नाममा मुलुकलाई विखण्डन गर्ने र अराजकता मच्चाउनेलाई नेपाली जनताले चिन्ने बताउनुभयो । मुलुकको ‘जीवनरेखा’का रुपमा रहेको तराई मधेशलाई समृद्ध बनाउने र त्यहाँ रहेका विविध खालका विभेदलाई अन्त्य गर्न आफ्नो पार्टीले योजनाबद्ध तवरले काम गरेको उहाँको कथन थियो । आफ्नो नेतृत्वको सरकारले आन्दोलनमा घाइते भएकालाई क्षतिपूर्ति, मृतक परिवारलाई राहत तथा उनीहरुको आश्रित परिवारको जीविकोर्पाजनका लागि विशेष निर्णय गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राजपाका वरिष्ठ नेता यादवले ‘माओवादी जनयुद्धका बलमा स्थापित भएको परिवर्तनलाई कुनै योगदान नै नगरेका शक्तिले हालीमुहाली गर्न थालेकाले’ आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।