औपचारीक तालमेलको तयारीमा काँग्रेस–माओवादी, ६० र ४० को मापदण्डमा छलफल

2094
views

काठमाडौं, २० भदौ । प्रदेश नम्बर २ को स्थानीय चुनाव सहित आगामी सबै तहका चुनावमा कांग्रेस–माओवादी ६०÷४० प्रतिशत भागबण्डा गरी तालमेल गर्ने प्रस्तावमाथि कांग्रेसमा औपचारिक छलफल हुने भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा आउने सबै निर्वाचनमा कांग्रेसलाई ६० र माओवादीलाई ४० प्रतिशत सिटमा भागबण्डा गर्नेगरी तालमेल गर्ने समझदारी भएको थियो ।

कांंग्रेस निकट स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले कांग्रेसलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट भागबण्डा गर्नेगरी तालमेलको प्रस्ताव गर्नु भएको थियो । दाहालको प्रस्तावलाई देउवा र कांग्रेस नेता बिमलेन्द्र निधिले सकारात्मक रुपमा लिनु भएको कांग्रेस स्रोतले वताएको छ । ‘आउने सवै तहका चुनावमा एमालेलाई रोक्ने सबैभन्दा उपयुक्त तरिका कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलबीचको तालमेल नै हो’ निधि निकट कांग्रेस नेताले भन्नुभयो, ‘सोही अनुसार कांग्रेसलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँड गर्ने सैद्धान्तिक सहमति भएको हो ।’

माओवादी अध्यक्ष दाहालले राख्नुभएको प्रस्ताप्रति सभापति देउवा र नेता निधि सकारात्मक रहेको र त्यसलाई पार्टीबाट औपचारिक तवरले अनुमोदन गराउने वचन देउवाले दिनुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुक बाहिर रहेकाले पौडेल फर्केपछि सो विषयमा निर्णय लिइने देउवाले वताउनु भएको छ । दुवै दलका कार्यदलले भविश्यमा दुई पार्टी एकतासमेतका विषयलाई ध्यान दिएर छलफल अगाडि बढाएकाले ६०र४० को मापदण्डमा सिट बाँडफाँडप्रति कांग्रेस सकारात्मक रहेको माओवादी स्रोतले वताएको छ । कांग्रेस नेता पौडेल फर्केलगत्तै आगामी चुनावमा कांग्रेस–माओवादी ६०-४० प्रतिशत सिट बाँडफाँडको औपचारिक टुंगो लगाउने देउवा पक्षको तयारी छ ।

प्रदेश नम्बर २ को स्थानीय चुनावमा भने ६०र४०को मापदण्ड पूरा गर्न आप्ठेरो भएको पनि उहाँले वताउनुभयो । कांग्रेसले ७५ प्रतिशत भन्दा बढी स्थानीय तहमा उम्मेदवार घोषणा गरिसकेको र राजपालाई पनि केही प्रतिशत छुट्याउनु पर्ने भएकाले प्रदेश २ को स्थानीय चुनावमा ६० र ४० को मापदण्ड पूरा गर्न अप्ठ्यारो परेको उहाँको भनाई थियो । ‘कांग्रेसमा पनि उम्मेदवारका आकांक्षीको ब्यवस्थापन गर्नु पर्नेछ त्यसैले आन्तरिक गृहकार्य सकेपछि मात्रै टुंगो लाग्छ’ उहाँले भन्नुभयो ।

अगामी चुनावपछि छिमेकी देश भारतले भने अनुरुप संविधान संशोधन गर्ने बाचा पूरा गर्न दुईतिहाई सिट संसदमा पुर्याउनेगरी तालमेलको तयारी उनीहरुले गरेका हुन् । नेपाल भ्रमणमा रहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजले कांग्रेस माओवादी गठबन्धन बलियो बनाएर अघि बढ्न सार्वजनिक रुपमै सुझाव दिनुभएको थियो भने भारतीय संस्थापन पक्ष निकटका थिंकट्यांकहरुले नेपालको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः सत्तामा फर्कन नदिन कांग्रेस, माओवादी र राजपा गठबन्धन बलियो बनाइदिने वताउनु भएको थियो । देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष नेपालको संविधान संशोधन प्रस्ताव संसदबाट पारित गराउन नसकेकामा दुःख ब्यक्त गर्दै भविश्यमा दुईतिहाई ल्याएर संविधान संशोधन गर्ने सार्वजनिक बाचा गर्नुभएको छ ।