निर्वाचन आयोगले गर्यो १ सय ३६ स्थानीय तहमा मनोनयन दर्ताको तयारी

2115
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २०, भदौ । दुई नम्बर प्रदेशमा भोलि हुने उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले भदौं २१ गते हुने उम्मेदवारको मनोनयनका लागि सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । यादवले उम्मेदवारी दर्ताका लागि सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० देखि ५ बजेसम्म समय तोकिएको जानकारी दिए ।
उनले महिला, दलित, अल्पसङ्ख्यक लगायत सबै उम्मेदवारको मनोनयन दर्ताका लागि आयोगबाट खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरूले सम्पूर्ण व्यवस्थापन गरिसकेको यादवले बताए । दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र तोकिएको र मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय जना कर्मचारी खटिने समेतयादवको भनाई छ ।
महिला, दलित, अल्पङ्ख्यक लगायतले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छ्ुट दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ लाई पूर्णरुपमा पालना गर्न र गराउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको बताएको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालय लगायतले पनि आचारसंहिता पालनाको अनुगमन गर्ने व्यवस्था मिलाइएको यादवले बताए । एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा असोज २ मा हुने निर्वाचनबाट ६ हजार ६ सय २७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । कुल ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरण र दोस्रो चरणमा गरी ६१७ वटा स्थानीय तहमा निर्वाचन भइसकेको छ । दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहका लागि असोज २ गते निर्वाचन हुँदैछ ।