प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान

637
views

काठमाडौं,२३ भदौ । निर्वाचन आयोगले प्रदेश र संसदको चुनाव प्रयोजनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । यसरी चुनाव चिह्न पाउनेमा ९५ दल छन् ।
मंसिर १० र २१ मा दुई चरण गर्न लागिएको चुनावमा दलहरुले आयोगले प्रदान गरेको चिह्न प्रयोग गर्न पाउने छन् । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको बिहीबार बसेको बैठकले दर्ता भएका दलहरुलाई चुनाव चिह्न दिएको हो ।
आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुईभन्दा बढी दललाई एउटै चुनाव चिह्न दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता भएका दलहरुलाई एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । जस अनुसार नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव चिह्न पाएका छन् । तीन दलको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा रहेको छ ।
माले र जनसमाजवादी पार्टीले एउटै चुनाव चिन्ह ‘हँसिया तारा’, राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले ‘सिपाही’ तथा पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आधुनिक पार्टी नेपालले ‘बाघ’ चुनाव चिह्न पाएका छन् ।
निर्वाचन आयोगले राप्रपाबाट फुटेर बनेका राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई ‘हलो’ चुनाव चिह्न दिएको छ । पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयाताकारभित्रको हलो चुनाव चिह्न दिइएको छ ।
विवेकशील साझा पार्टीले ‘तराजु’, नयाँ शक्ति पार्टी नेपालले ‘आँखा’ चुनाव चिह्न पाएको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ‘छाता’ चुनाव चिह्न पाएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत संसदमा रहेका दलले भने साविककै चुनाव चिह्न पाएका छन् ।