नगरपालिकाले कर लगाएपछि फलेवासका किसानको दूध बिक्री हुन छाड्यो

2299
views

महेन्द्र जिसी

पर्वत,२४ भदौ । फलेवास नगरपालिकाले कृषि उपजमा कर लगाएपछि पर्वतको फलेवास क्षेत्रका कृषकको दूध बिक्री हुन छाडेको छ। नगरपालिकाले कर लगाएपछि फलेवासबाट सदरमुकाम कुश्मा बजारमा दुध ढुवानी गरिरहका कृषकहरुको दूध बिक्री हुन छाडेको हो।

 

फलेवास क्षेत्रका कुर्घा पाङराङ, देविस्थानमा गाई पालक कृषकहरुको संख्या बढेको भएपनि कर कै कारण दुध डेरी सञ्चालकहरुले खरीद गर्न नमाने पछि कृषकहरु मर्कामा परेका हुन्। प्रतिकृषक १५ हजार खर्च गरेर समरमुकाम सम्मको सडक मर्मत गरेर दूध ढुवानीको व्यवस्था मिलाएका कृषकहरुले दुधमा कर लागाएपछि सदरमुकामका व्यवसायीले दूध खरिद गर्न नमानेको बताएका छन।

‘नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि आँफैले सडक मर्मत गरेर दूध ढुुवानीको व्यवस्था मिलएका थियौँ’, चिसापानी दुग्ध सहकारीका अध्यक्ष शोधा क्षेत्रीले भने, ‘अहिले प्रतिलिटर एक रुपैयाँको दरले कर लागु भएपछि दूध विक्री गर्न समस्या परेको छ।’

कृषकहरुलाई जानकारी नदिइ कर लगाएको भन्दै किसानले त्यसको विरोध गरेका छन्। आवश्यक पुर्वाधारविना नगरपालिकाले कर मात्रै लगाएर किसानविरोधी कार्य गरेको भन्दै उनीहरुले त्यसको विरोध गरेका हुन्। वर्षमा मुस्किलले ४ महिना मात्रै सवारी चल्ने उक्त क्षेत्रका किसानहरुले वर्षयाममा बोकेरै कृषि जन्य उत्पादन विक्री वितरण गर्दै आइरहेका छन्। अहिले पनि सडक सञ्चालनमा नआई सकेका कारण बोकेर ल्याएको दुध डेरीहरुले करको कारण देखाएर खरिद गर्न नमानेपछि किसानहरु मर्कामा परेको अध्यक्ष क्षेत्रीले बताए।

यता नगरपालिकाले भने कृषकहरुको हितका लागि भन्दै कर संकलनका लागि टेण्डर आह्वान गरिसकेको जनाएको छ। सडकका समस्य सबै क्षेत्रमा रहको बताउँदै नगरप्रमुख पदमपाणि शर्माले नगरभरिका सडकको समस्या समान भएकाले सबैतिर एकैपटक काम गर्न समस्या भएको बताए। मानिसमार्फत ढुवानी गराउँदाप्रति लिटर दश रुपैयाँ लाग्ने गरेको दूध फर्काउन पर्ने समस्या भएपछि कृषकहरुले लगानी डुब्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

विचौलिया र सडक खर्च कटाएर दूधको पूरा मुल्य नपाउने गरेका किसानहरुले करको निणर्य पछि थप समस्यामा परेका हुन। सहकारीका व्यवस्थापक यज्ञप्रसाद शर्माले डेरी सञ्चालकहरुले प्रति लिटर ६० रुपैयाँका विक्री गर्ने गरेको भए पनि कृषकहरुले प्रतिलिटर ४० रुपैयाँ पाउने गरेको भए पनि करका कारण झन मुल्य घटन्े बताए। अहिले सहकारीमा गाउँ भरीका दुई सयभन्दा बढी कृषकहरुले दूध संकलन गर्ने गरेका छन। दैनिक रुपमा ४५० देखि ५ सय लिटर सम्म दूध सदरमुकाम प¥याउँदै आएको सहकारीले जनाएको छ।