पर्वतमा बाघको आक्रमणबाट शिक्षक गम्भीर घाइते

1014
views

पर्वत,२५ भदौ । पर्वतमा बाघको आक्रमणमा परी एक शिक्षक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा कुश्मा नगरपालिका वडा नम्बर–२ खुरकोटका महेश्वर शर्मा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
खुरकोटकै कालिका माध्यमिक विद्यालयका शिक्षक रहेका पौडेललाई शनिबार साँझ ६ बजेतिर आफ्नै घरको आँगनमा बाघले आक्रमण गरेको थियो ।
उनको अनुहार, हात र खुट्टामा चोट लागेको जिल्ला अस्पताल पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले बताए ।
घरमा रहेको कुकुरलाई आक्रमण गर्नेक्रममा बाघले शिक्षक पौडेलमाथि पनि आक्रमण गरेको बताइएको छ ।
घाइते शिक्षक पौडेललाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
झन्डै एक वर्षअगाडि शिक्षक पौडेलकै घरभन्दा केहीमाथिको घरमा राति १० बजेतिर शौचालय जानेक्रममा बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको थियो ।