नेपाल भित्रियो, सुरूङ खन्ने चिनियाँ टनेल बोरिङ मेशिन

658
views

बेइजिङ,२६  भदौ । चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो।
चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता भन्सारको सबै क्लियरेन्स पूरा भएको थियो। त्यहाँबाट गत सेप्टेम्बर २ मा नेपाल प्रवेश गर्ने गरी सबै भन्सार प्रक्रिया पनि पूरा गरिएको थियो।
तीव्र गति र लामो गहिराईसम्मका टनेल खन्ने क्षमता भएको यस मेशिनको व्यास ५.०६ मिटर छ भने नेपाल सरकारले ७० मिलियन चिनियाँ युआनमा चीनकै शाङ्हाईबाट निर्माण गराएको हो।
भेरी बबई डाइभर्सन परियोजनामा १२ किलोमिटर लामो सुरुङ खन्न यो मेशिन ल्याइएको बताइएको छ। टनेल बोरिङ मेशिन परियोजनास्थल पुगिसकेको छ। परियोजना प्रमुख शीवकुमार बस्नेतका अनुसार २५० मिटर लामो यो मेशिन जडान गर्न करिब दुई महिना लाग्नेछ। नेपालमा कुनै परियोजनामा पहिलो पटक यसरी टिबिएम मेशिन प्रयोग गर्न लागिएको हो।