काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको तेस्रो चरणको चुनाव हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लामा चुनावी सभा गर्नुहुने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवा भदौ २७ गते प्रदेश २ को निर्वाचन प्रचारमा निस्केर ३० गते राजधानी फर्कने कार्यक्रम छ ।
सभापति देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ । सम्बोधनपछि पार्टी कार्यकर्तासँग भेटघाट गरेर उहाँ सोही दिन सिरहाको जिरो माइलमा पुगेर अर्को आमसभालाई सम्बोधन गर्नुहुने पार्टी कार्यालयले जानकारी दिएको छ । सिरहापछि त्यही दिन सभापति देउवा जनकपुर जाने कार्यक्रम छ । उहाँले २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नुका साथै कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँले दिउँसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने पार्टी कार्यालयले जानकारी दिएको छ ।
जनकपुरको सम्बोधनपछि सभापति देउवा महोत्तरीको बर्दिबासमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भदौ २९ गते सभापति देउवाले सर्लाहीको मलङ्गवा र रौतहटको गौरमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । रौतहटको कार्यक्रमलाई सम्बोधन गरेपछि सभापति देउवा वीरगन्ज जाने र भदौ ३० गते बिहान पर्साका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जानकारी दिएको छ । उहाँले त्यही दिन दिउँसो बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । कलैयापछि वीरगन्जको चुनावी सभालाई सम्बोधन
गरेपछि सभापति देउवा काठमाडौँ फर्कने कार्यक्रम रहेको पनि पार्टी कार्यालयले जानकारी दिएको छ ।