– एमालेले मुलुकमा बिखण्डन ल्याउन खोजिरहेको छ ।
– एमालेका कारण संविधान संशोधन हुन सकेन ।
– ढिलै भएपनि संविधान संशोधन गराई छाड्ने प्रतिवद्धता ।
नवदृष्टि संवाददाता
कलैया । तराई मधेश चुनावी अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेशमा जे बोलेका थिए काँग्रेस सभापती एवं प्रधानमन्त्री शेर बहादुर देवाले पनि चुनावी सभामा सोही भाषा बोलीरहेका छन् ।
मधेशमा चुनावी सभालाई संबोधन गर्दै प्रचण्डले एमालेलाई मुलुकमा विखण्डन ल्याउन खोजेको, संविधान संशोधन गर्न नदिएको, ढिलै भएपनि संविधान संशोधन गराई छाड्ने प्रतिवद्धता जनाएका थिए ।
त्यसैगरी प्रधानमन्त्री शेर बहादुर देउवाले पनि एमालेलाई सोही आरोप लगाएका छन् । शुक्रबार कलैया पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले मुलुकमा विखण्डन ल्याउन खोजेको र संविधान संशोधन हुन नदिएको आरोप लगाएका हुन् । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने विश्वास दिलाए ।
नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले एमालेले मुलुकमा विखण्डन ल्याउने कुरामा दुईमत नभएको धारणा व्यक्त गरे । देउवाले मधेसका जनताले एमालेको चरित्र बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन समेत मतदातालाई आग्रह गरे ।
पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन, उनले भने – ‘एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।’ सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएको भन्दै तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताए । चुनावी सभामा दुई नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो पार्टी हुने देउवाले दाबी गरे ।
सोही चुनावी सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत् यादव, थिरबम मल्ल, रामनारायण मिश्र जस्तो योद्धा जन्मेको र काँग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उहाँहरुले देखेको सपना काँग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।