काठमाडौँ, ३० भदौ । काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको भारोत्तोलन प्रतियोगितामा नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रङ्गेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट खेलाडी घोषित भएका छन् । उनीहरुले मेडल, ट्रफी र नगद ११ हजार प्राप्त गरेको संघले जनाएको छ ।
प्रतियोगितामा महिला जुनियर तर्फ सेनाकी कमला श्रेष्ठ र सिनियर तर्फ सञ्जु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका थिए । यस्तै पुरुष तर्फ जुनियरमा बाँकेका प्रकाश केसी र सिनियरम सेनाका ओलम्पियन कमलबहादुर अधिकारी घोषित भएका छन् । विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा राईजिङ खेलाडी तर्फको उपाधि पुरुषमा कास्कीका किरण घर्ती मगर र महिलामा पर्साकी रशिना बस्नेतले हात पार्न सफल भएका छन् उनीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीद्वय सेनाकी कमला श्रेष्ठ र बाँकेकी सञ्जु श्रेष्ठले नगद रु. एक हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
दक्षिण एशियाली खेलकुदका सर्वाधिक पदकधारी, ओलम्पियन तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिललाल जोशीको स्मृतीमा आयोजित भारोत्तोलन प्रतियोगिताको पुरुष ६२ केजी तौल समूहको सिनियर तर्फ नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८० केजी, क्लिन एण्ड जर्कमा ११० केजी भारका साथ कुलमा १९० केजी भार वहन गर्दै स्वर्ण पाए । दोश्रो भएका एपिएफका राहुल कुमार दासले ७०, ८३ र कुलमा १५३ केजी भार वहन गरे । तेश्रो स्थानमा रहेका एपिएफका सुभाष कुमार शाहले ६५, ८७ र कुलमा १५२ केजी भार वहन गरे ।
बालकुमारी व्याङक्वेटमा भएको प्रतियोगिताको ६९ केजी तौलमा नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २०० केजी भार वहन गर्दै स्वर्ण पदक पाए । उनले स्नाचमा ८५ र क्लिनमा ११५ केजी उचालेका थिए । एपिएफका महेश चौधरीले १७७ केजी भार वहन गर्दै रजत पाए । उनले स्नाचमा ८२ र क्लिनमा ९५ केजी उचाले । यस्तै सेनाकै जिवन तामाङ्गले कुलमा १६० केजी उचाल्दै कास्य पाए । उनले स्नाचमा ७० र क्लिनमा ९० केजी भार वहन गरे ।
यस्तै ७७ केजी तौलमा ओलम्पियन नेपाली सेनाका कमलबहादुर अधिकारीले स्वर्ण पाए । उनले स्नाचमा ११० केजी, क्लिनमा १५७ केजीका साथ कुलमा २६७ केजी भार वहन गरे । एपिएफका तिलकबहादुर थापाले रजत पाए । उनले ७०, ९२ र कुलमा १६२ केजी उचाले । पर्साका आकाश कुमार पटेलले कास्य पाए । उनले ५८, ६० र कुलमा ११८ केजी उचाले ।
पुरुषकै सिनियर तर्फको ८५ केजीमा २१७ केजीका साथ नेपाली सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण पदक हात पारे । उनले स्नाचमा ९७ र क्लिनमा १२० केजी भार वहन गरे । १९० केजीका साथ सेनाकै दिनेश कार्कीले रजत पाए । उनले ७५ र ११५ केजी भार वहन गरे । १४५ केजीका साथ एपिएफका सुजन बि.क.ले कास्य पाए । उनले ६३ र ८२ केजी भार वहन गरे ।
९४ केजीमा नेपाली सेनाका टहलबहादुर बस्यालले २०७ केजीका साथ स्वर्ण, सेनाकै विनोद खड्काले १५७ केजीका साथ रजत र एपिएफका देवेन्द्र विकले १६६ केजीका साथ कास्य पाए ।
प्रतियोगिताको १०५ केजीमा सेनाका दिनेश श्रेष्ठले स्वर्ण पाए । उनले स्नाचमा ११० केजी र क्लिनमा १४८ केजी गरि कुल २५८ केजी भार उचाले । यस्तै १०५ केजी माथी सेनाकै पुकार गुरुङले २५० केजीका साथ स्वर्ण पाए । गुरुङले स्नाचमा ११५ र किल्नमा १३५ केजी उचाले ।
दुईदिने प्रतियोगिताको जुनियर ६२ केजीमा कुलमा १५० केजी भार वहनका साथ ललितपुरका गणेश रानाभाटले स्वर्ण, १४० केजीका साथ बाराका सरुद्दिन आलमले रजत र बाराकै अशोक शाहले १३० केजीका साथ कास्य पाए । ६९ केजीमा बाँकेका प्रकाश केसीले २१२ केजीका साथ स्वर्ण र बाराका धिरज यादवले ११५ केजीका साथ रजत पाए । ७७ केजीमा बाँकेका सुरज वैश्यले १६६ केजीका साथ स्वर्ण पाए । यस्तै ९४ केजीमा भक्तपुरका जयदीप कोजुले कुलमा १६० केजीका साथ स्वर्ण र १२५ केजीका साथ बर्दियाका रोशन विसीले रजत पाए । १०५ केजी तौल समूहमा कञ्चनपुरका सागर भण्डारीले २०३ केजीका साथ स्वर्ण पाए । उनले स्नाचमा ८५ र क्लिनमा ११८ केजी भार वहन गरे ।
विजयी खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, स्व सुनिललाल जोशीका श्रीमती, प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन नेवालगायतले पुरस्कार वितरण गरेका थिए ।