थवाङमा विप्लव र प्रचण्डको ‘कन्फ्लिक्ट’

615
views

काठमाण्डौ । नेपालमा नयाँ जनवादी व्यवस्था स्थापनाको मुख्य उद्देश्य राखेर गरिएको महान जनयुद्धको उद्गम थलोको रुपमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रुपमा स्थापित रोल्पाको थवाङका पछिल्ला घटनाक्रमहरु प्रचण्ड र विप्लवबीचको ‘कन्फ्लिक्ट’को रुपमा अभिव्यक्त भएको देखिएका छन् । नयाँ जनवादी क्रान्तिको एजेण्डा परित्याग गरेर बुर्जुवा संसदीय व्यवस्थाको मतियार बनेका र समाजवादी क्रान्तिको वकालत गरिरहेका प्रचण्ड र नयाँ जनवादी क्रान्तिलाई भन्दापनि वैज्ञानिक समाजवादको वकालत गर्दै आएका विप्लवबीच थवाङमा अहिले ‘इगो पोलिटिक्स’ चलिरहेको छ । केही समय पहिले पार्टीको एउटा कार्यक्रममा विप्लव पनि नयाँ प्रचण्ड बन्न खोजिरहेको भन्दै आफू जिउँदै रहेको अवस्थामा त्यो सम्भव नरहेको अभिव्यक्ति दिएका थिए । प्रचण्डले गरेको पार्टी एकताको प्रस्ताव विप्लवले ठाडै अस्वीकार गर्दै पनि आएका छन् ।
पछिल्लो पटक प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको तर्फबाट थवाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीमगरलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कब्जामा लिएपछि माओवादी केन्द्रकै तर्फबाट गृहमन्त्री बनेका जनार्दन शर्माले नेकपाका राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठामगरलाई गिरफ्तार गरेका छन् भने नेकपाको कब्जामा रहेका प्रमुख मगरको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबार गर्ने भनिएको थवाङ गाउँपालिकाको परिषद्को बैठकमा प्रमुख अतिथिको रुपमा प्रचण्ड जाने कार्यक्रम तय भएपछि गापा प्रमुखलाई विप्लवले कब्जामा लिएपछि प्रचण्ड र विप्लवबीच ‘कन्फ्लिक्ट’ले उग्ररुप लिन पुगेको छ । थवाङ आफ्नो पकड क्षेत्र दावी गर्दै आएको नेकपाले गाउँपालिकाको चुनावमा माओवादी केन्द्रका विरुद्ध कांग्रेस, एमालेसँग तालमेल गर्दा पनि आफ्नो प्रतिनिधिलाई निर्वा्चित गराउन सकेको थिएन । वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका उवा स्थायी घर भएका स्थानीय नेता हुन् भने सुवास नामले चिनिने बाठामगर भावाङ निबासी हुन् । बाठामगर समेतको योजनामा गाउँपालिका अध्यक्ष घर्तीमगरको अपहरण गरिएको प्रहरीको दावी छ ।
थवाङ गाउँसभाको कार्यक्रम उदघाटनका लागि शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ लगायतका नेताहरु पनि थवाङ जाँदै छन् । सोही कार्यक्रम विथोल्ने उद्देश्यले नेकपाले गाउँपालिका अध्यक्ष घर्तीको अपहरण गरेको प्रहरीले दावी गरेको छ । घर्तीको खोजीका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंबाट शुक्रबार दिउँसो उच्च प्रहरी अधिकारीसहितको टोली रोल्पा गएको छ । राप्ती अञ्चल प्रमुख एससपी दिलिपकुमार चौधरी नेतृत्वको एक टोली पनि रोल्पा पठाइएको छ । सदरमुकाम लिवाङ, घर्तीगाउँ लगायत स्थानबाट पनि घर्तीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । राज्यशक्ति आफ्नो हातमा रहेको दावी गर्दै आएका दुईपटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले घर्तीलाई अपहरणमुक्त गर्ने नाममा राज्यशक्तिको कुन हदसम्म दुरुपयोग गर्लान ?