तेह्रथुमका द्वन्द्वपीडितले पाए पाँच करोड राहत

1127
views

नवदृष्टि संवाददाता
तेह्रथुम, ३१, भदौ । तेह्रथुममा सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई सरकारले पाँच करोड रुपैयाँ भन्दा बढी राहत वितरण गरिएको छ । यहाँका १९० जना द्वन्द्वपीडितलाई पाँच करोड एक लाख रुपैयाँ राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताउनुभयो । स्थानीय शान्ति समिति रजिल्ला प्रशासन कार्यालयको सिफारिस अनुसार द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा द्वन्द्वपीडितलाई राहतस्वरुप आर्थिक सहायता दिइएको हो । तेह्रथुममा सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१, सुरक्षाकर्मी नौ र कर्मचारी एकका परिवार रहेको कार्यदलको प्रतिवेदन पेश गरेको थियो । उनीहरुलाई यसअघि दिइएको रकममा थप गरी रु १० लाख पु¥याइएको छ ।
उक्त ८१ जनामध्ये ७८ मृतकका परिवारले मात्र राहत रकम लिएका छन् । बाँकी तीन जनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताउनुभयो ।
सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका चारमध्ये दुई जनाको परिवारलाई यसअघि नै पाँच लाख उपलब्ध गराइएको र थप पाँच लाख रुपैयाँ बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उहाँले बताउनुभयो । बाँकी दुईजना भने जीवितै भेटिएकाले उनीहरुका नाममा आएको राहत रकम फिर्ता भएको छ ।
त्यसैगरी द्वन्द्वका समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित १११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी रु २५–२५ हजार वितरण गरिएको छ । राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको प्रजिअ खनालले बताउनुभयो ।