गुड नेवर्सको उपकार, तीन विद्यालयमा पूर्वाधार

2274
views

शोभा कार्की
पर्वत, ३१, भदौ । यति सम्मकी सरकारले गर्नुपर्ने सहयोग दातृ निकाय तथा संस्थाहरुले गरिरहेका छन् । सरकारी पक्ष र सरकारी अधिकारीहरु खल्ति टक्टक्याउँछन र विद्यालयहरु दातृ निकाय गुहार्न पुग्छन् ।

सम्बन्धित निकायको आर्थिक सहयोग आकाशको फल आँखातरी मर जस्तै हुन्छ, ग्रामिण भेगका सरकारी विद्यालयहरुलाई । विद्यालयहरु पनि अर्थदाता समक्ष सहयोग माग्दै पुगिरहेका हुन्छन् र सहयोग पनि पाएकै छन् । यसैबीच गुड नेवर्स ईन्टरनेश्नल नेपालको उपकारले तीन विद्यालयमा पूर्वाधार निर्माण कार्यको शुरुवात भएको छ । उक्त निर्माण कार्यमा गुड नेवर्सको आर्थिक सहयोग जिल्ला स्थित साझेदारी संस्था सोडेक नेपाल मार्फत कार्यक्षेत्र भित्रका तीनवटा विद्यालयमा पुगेको हो । तीन विद्यालय मोदी गाउँपालिकाको झिलीबराङ आधारभूत विद्यालय भुकताङले, नवज्योति थम मावि भुकताङ्ले र फलेवास नगरपालिका–७ लिमिठाना मावि लिमिठानालाई गरेको आर्थिका सहयोगले विद्यालय पूर्वाधार निर्माणको काम थालिएको हो ।

सोडेक नेपालले जिल्लाका तीन विद्यालय मध्ये दुईवटा विद्यालय झिलिबराङ र लिमिठानामा दुई÷दुई कोठे ट्रष्ट भवन र नवज्योति माद्यमिक विद्यालयमा शौचालय निर्माणका लागि झण्डै ४६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

संस्थाले छात्रा मैत्री शौचालय निर्माणका लागि नवज्योति थम माध्यमिक विद्यालय भुकताङलेलाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयका प्रधानध्यापक मिना कुमारीको भनाई छ । यसैगरी विद्यालय भवन निर्माणका लागि झिलिबराङ आधारभूत विद्यालयलाई १९ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद पौडेल बताउँछन् । भने फलेवास नगरपालिका अन्र्तगतको लिमिठाना मावि लिमिठानालाई १८ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक यम प्रसाद शर्माको भनाई छ ।

भवन तथा शौचालय जीर्ण अवस्थामा रहेका ति विद्यालयले आर्थिक सहयोग पाएपछि विद्यालयलाई राहत मिलेको प्रधानाध्यापकहरु बताउँछन् । निर्माण कार्यका लागि ति विद्यालयहरुले सोडेक नेपालसँग सम्झौता गरी ५० प्रतिशत रकम बुझिसकेका छन् ।