आज विज्ञान दिवस मनाईदै

2052
views

काठमाडौँ, असोज १ गते । सदाझैँ यसपटक पनि आइतबार असोज १ गते विज्ञान दिवस मनाइँदैछ । परम्परागत शैलीमा केही कार्यक्रम गरेर विज्ञान दिवसको पाचौँ संस्करणको औपचारिकता पूरा गरिने भएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका विजयी समूह र यस वर्षका लागि विज्ञान दिवसको नारा लेख्ने दुई जनालाई पुरस्कृत गरेर विज्ञान दिवस मनाउन लागेको छ ।
पाँच वर्षअघि सुरु गरिएको विज्ञान दिवस नागरिक स्तरसम्म पुग्नै सकेको छैन । सम्भवतः त्यही कारण सरकार र नागरिक स्तरबाट समेत यसलाई महत्व दिइएको छैन । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले विज्ञान क्षेत्र उपेक्षामा परेको गुनासो गर्दै भन्नुभयो, ‘विज्ञान क्षेत्रको विकासका लागि पर्याप्त बजेट त छैन नै, हामीलाई यो एउटा महत्वपूवपूर्ण क्षेत्र हो भनेर सकारात्मक बनाउने चुनौती छ ।’
सरकारले चालू आर्थिक वर्षमा विज्ञान मन्त्रालयका लागि करिब एक अर्ब २० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । सो विनियोजित बजेटको करिब ९० प्रतिशत रकम कर्मचारीको तलबभत्ता र प्रशासनिक प्रयोजनमा नै खर्च हुने गरेको छ ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा राजधानीको अमृत साइन्स क्याम्पस स्थापना भएको दिनको स्मरणमा विज्ञान दिवस मनाउने सरकारी निर्णय भएको थियो ।
तर, अन्तर्रा्ष्ट्रिय स्तरमा भने संयुक्त राष्ट्रसङ्घीय संस्था युनेस्कोको पहलमा सन् २००२ देखि प्रत्येक वर्ष नोभेम्बर १० लाई ‘विज्ञान दिवस’को रूपमा मनाउने गरिएको छ ।
२०६१ सालमा विज्ञान प्रविधि कोष स्थापना गरेर त्यसमार्फत बृहत्तर कार्यक्रम गर्ने नीति बने पनि अहिले कोष स्थापना हुन सकेको छैन । “यसबारे अर्थ मन्त्रालय कहिल्यै सकारात्मक हुन सकेन”, सचिव शर्माले भन्नुभयो, “यसपटक बल्लबल्ल राष्ट्रिय विकास सम्बन्धन समितिमा विज्ञान प्रविधिलाई पनि एउटा विषयका रूपमा प्रवेश गराइएको छ ।’ २१ वर्षअघि स्थापित मन्त्रालयको विभागीय वा जिल्लास्तरीय कार्यालयसम्म स्थापना भएको छैन ।