यसकारण फर्काइए कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसनबाट

2141
views

टोक्यो, १, असोज । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन जापान गएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा बसेर नेपाल फिर्ता पठाइएका छन् ।
कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेल र उनीसँगै रहेका स्वास्थ्यखबर पत्रिकाका प्रकाशक अनिल न्यौपाने समेतलाई भने अध्यागमनले नियन्त्रणमा लिएको थियो ।
केही घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि उनीहरुलाई नेपाल फिर्ता पठाइएको छ । ‘हामीले अनेक कोसिस गर्दा पनि बाहिर ल्याउन सकिएन’ आयोजक नेपाली जनसम्र्पक समितिका प्रवक्ता सुरेश गिरीले भने ‘उहाँहरुलाई फिर्ता पठाएको जानकारी इमिग्रेसनले दिएको छ, आजै राति नेपाल आइपुग्नुहुन्छ ।’
जापानस्थित नेपाली जनसम्पर्क समितिको विश्वस्त सूत्रले दिएको जानकारी अनुसार उनीहरुका साथमा केही पार्टीसँग असम्बन्धित मानिसहरु रहेको बुझिएको छ ।
धनराज गुरुङपछि इमिग्रेसन जाँचमा पुगेका उनीहरुले जापानबाट नेपाल फर्किने कुरामा आश्वस्त पार्ने गरी जवाफ दिन नसकेपछि इमिग्रेसन पुगेका पौडेल र न्यौपाने समेत नियन्त्रयणमा परेका हुन् ।
धनराज गुरुङसँग रातो पासपोर्ट भएकाले बिना चेकजाँच सहजै आउन पाएपनि पौडेलसँग रातो पासपोर्ट नभएकाले समस्या आएको गिरीको भनाइ छ ।