प्रदेश नम्बर २ मा आज ६६ सय २७ पदका लागि ३७ हजार उम्मेदवारको भिडन्त

1968
views

काठमाडौँ, २ असोज । प्रदेश नम्बर २ का आठ जिल्लामा आज हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा ६६ सय २७ पदका लागि ३७ हजार उम्मेदवारले प्रतिष्पर्धा गर्दै छन् । १३६ स्थानीय तहका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।
जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष उम्मेदवारको प्रतिष्पर्धा छ ।
निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार रहेका छन् । आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन् । २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन तयारी र सुरक्षा प्रबन्ध व्यवस्थित रहेकाले निर्भीक रूपमा मतदान गर्न मतदातालाई अनुरोध गरे ।
विदेशीलाई एकदिने अवलोकन

निर्वाचन आयोगले विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई एकदिने अवलोकन गर्न सक्ने व्यवस्था गरेको छ । उनीहरूले निर्वाचनको पर्यवेक्षण गर्न पाउँदैनन् ।
आयोगका अनुसार विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले प्रदेश नम्बर २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्नेछन् । आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सय पर्यवेक्षकलाई अनुमति दिएको छ ।