क्रान्तिकारी माओवादीको निर्णायक राष्ट्रिय सम्मेलन हुँदै

2410
views

काठमाण्डौ, २, असोज । नेकपा (क्रान्तिकारी माओवादी) ले २१ असोज देखि २५ मा हुने पार्टीको राष्ट्रिय सम्मेलनको निर्णायक तयारीमा जुटेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णभक्त महर्जन‘कगेन्द्र’का अनुसार देशका ७६ वटै जिल्ला, प्रवास र अन्तराष्ट्रिय गरी करिब ५ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागि हुनेछन् । उनले ३ नं. प्रदेशको काठमाडौं जिल्लामा प्रतिनिधि छनौट गर्न निर्वाचनको विधि प्रयोग गरेको र अन्य जिल्लामा प्रतिनिधि छनौटको कामलाई टुंग्याउँदै लगिएको जानकारी दिए ।
पार्टीमा वैचारिक, राजनीतिक तथा सांगठानिक महत्वका विषयहरुलाई व्यवस्थित रुपमा छलफल तथा बहस चलाउन सम्मेलनका लागि तयार पारिएका दस्तावेजहरु प्रकाशित गर्ने गरी सबै जिल्लामा वितरण गरिएको र ती दस्तावेजहरुमाथि प्रदेश स्तरमा छलफल तथा बहस चलाइएको स्रोतले जनाएको छ ।
जनवादी क्रान्तिको पक्षमा उभिएको सो पार्टीको यो सम्मेलन निर्णायक बन्ने देखिएको स्रोतको दाबी छ ।
पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’, कार्यालय सदस्य रामसिंह श्रीस लगायतका नेताहरुले ३ नं. प्रदेशमा भाद्र २० गते, भाद्र २२ गते ४ नं. प्रदेशमा, भाद्र २४ गते ५ नं. प्रदेशमा, भाद्र २६ गते ६ नं. प्रदेशमा, भाद्र २८ गते ७ नं. प्रदेशमा दस्तावेजमाथि प्रदेश स्तरका नेता कार्यकर्ताबीचमा छलफल बहस चालएका छन् । भाद्र ३१ गते– १ नं. प्रदेशका तोकिएको कार्यक्रम भने स्थगित भएको बुझिएको छ भने २ नं. प्रदेशका लागि आश्विन ७ गते छलफल बहस चलाउने कार्यक्रम तय गरिएको छ ।
जिल्लाहरुले भने भेला गरी प्रतिनिधि छनौट गर्ने र आ–आफ्नो सापेक्षताका दस्तावेजहरुमाथि बहस÷छलफल गर्ने र १५ आश्विनसम्म केन्द्रीय कार्यालयमा सुझावहरु पठाउने अन्तिम समय तोकिएको पार्टी कार्यालय सचिव कगेन्द्रले जानकारी दिए ।