एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित, चेल्सी र आर्सनल बराबरी

1761
views

काठमाडौं, असोज २ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ४–० को जित हात पारेको हो ।
म्यान्युको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे । जितपछि म्यान्युको ५ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भए पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ ।
पाँच खेलबाट चार अंक जोडेको एभर्टन भने १८ औं स्थानमा झरेको छ । यसैगरी गएराति नै भएको अर्को खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । साबिक विजेता चेल्सी घरेलु मैदानमा भएको खेलमा आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेलको ८७ औं मिनेटमा रातो कार्ड खाँदै डेविड लुइज मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो । पाँच खेलबाट १० अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ । सात अंक मात्रै जोडेको आर्सनल १२ औं स्थानमा छ ।