आज घटस्थापना अर्थात शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राखिँदै

2748
views

काठमाडौंँ, ५, असोज । आज असोज शुक्ल प्रतिपदाको दिन हो । आजकै दिनबाट नेपालीहरूको महान् पर्व बडादसैँबो सुरु भएको छ । हिन्दु नेपालीहरुले घरडेराका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवताको आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ ।

बिहानै आत्मा र शरीर शुद्धिसहित लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने प्रचलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ९ः४१ बजे घटस्थापनाका लागि अति उत्तम साइत भनेको छ । शास्त्रमा उल्लेख भए अनुसार जमरालाई समृद्धिको प्रतीक मानिएको छ । असत्यमाथि सत्यको विजय र आसुरीमाथि दैवी शक्तिको विजयस्वरूप घटस्थापनादेखि नौ दिनसम्म जमरा राखिएको स्थान वा देवपीठमा दुर्गा सप्तसती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ । यो नौ दिन घटस्थापनाका दिन शैलीपुत्री, अर्को दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदातृका रूपमा देवी भगवतीको आराधना गरिन्छ ।

 

घटस्थापनाका दिन घट कलश स्थापना गर्ने र जमरा राख्ने दुई कार्यलाई मुख्य रूपमा रहने गरेको छ । घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमा भनिने आश्विन शुक्ल पूर्णिमासम्मको पन्ध्र दिन बडादसैँ देशभर धूमधामसँग मनाउने गरिन्छ । देशका विभिन्न शक्ति पीठहरुमा यसै साइतमा घटस्थापना गरिँदैछ । यसै खुसियालीको सन्दर्भमा आज बडादसैँको खुसीको लहरसहित घटस्थापना गरिँदैछ ।