फेरियो रणनीति, एमालेले अब फकाउँदैछ माओवादी

1465
views

‘मैले त भनेकै हो नि कामरेडहरुलाई तर हाम्रै साथीहरुले दूरी बढाइहाल्नु भयो, अब स्थिति सम्हाल्नु पर्छ’ दुई नम्बर प्रदेशको चुनावी परिणाम सतहमा आउँदै गर्दा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीको अनौपचारिक एक भेटघाटमा आफ्ना कार्यकर्तालाई सुनाए, ‘खासगरी माओवादीले आफ्नो पोजिसन सुधार्ने देखियो। माओवादीलाई टाढा राख्नु हिजो पनि राम्रो थिएन र भोली पनि राम्रो हुने छैन।’
पार्टी केन्द्रीय समिति बैठको संघारमा नेता बामदेव गौतमले मात्र होइन एमालेका अग्रपंक्तीका धेरै नेताहरु कांग्रेस–माओवादी गठबन्धनसँग चुकचुकाउन थालेका छन्। यतिसम्म कि, गृहजिल्ला रौतहटमा एमाले पत्तासाफ हुने सुँइको पाइसकेपछि नेता माधव नेपालले त सार्वजनिक रुपमै ‘माओवादीलाई प्रधानमन्त्री नदिनु पार्टीको गल्ती भएको’ बताए।
प्रदेश नम्बर दुईमा दोस्रो ठूलो दलको लागि समानान्तर गतिमा हिँडिरहेको माओवादी केन्द्र समग्रमा ‘स्ट्रोङ थर्ड’का रुपमा स्थापित हुनु भनेको एमालेले यसअघि गरेको आंकलन निश्फल हुनु हो। पहिलो र दोस्रो चरणको निर्वाचनको परिणामले उत्साही बालकोटले केन्द्रीय संसदको निर्वाचनमा सके बहुमत नत्र राप्रपा जस्तो सानो दललाई लिएर सरकार बनाउने र कांग्रेससँगै माओवादीलाई पनि प्रतिपक्षमा राख्ने योजना साकार हुने विश्लेषण गर्दै आइरहेको छ।
‘अझै पनि अध्यक्ष केपी ओली र उहाँका सन्निकटहरुले अवको संसदको गणितमा त्यो सम्भावना देखिरहेका छन् तर दुई नम्बर प्रदेशको चुनावपछि भने रणनीतिमा केही पुनर्विचार गर्ने हो कि भन्ने कोणबाट कुरा सुरु भएको छ’ एमालेभित्र माधव नेपाल निकट एक नेताले भने, ‘राष्ट्रवादको नाराले मात्र धान्दैन अलिक फरक ढंगमा पार्टीलाई लैजानु पर्छ भन्ने हाम्रो कुरा हो।’
यति हुँदाहुँदै पनि, एमालेले अब एक मात्र रणनीतिका रुपमा कांग्रेस र माओवादीको वर्तमान गठबन्धन टुक्राउन कार्ययोजना बनाउने भएको छ। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्रले दरिलो साथ दियो। तर, सरकार सञ्चालन आलोपालो गर्ने दुई दलबीच त्यतिबेला सहमति भएको थियो। त्यो सहमति मान्न एमाले तयार नभएपछि माओवादी केन्द्र सरकारबाट बाहिरियो। त्यहीबाट एमाले र माओवादी केन्द्रबीच तिक्तता बढ्यो। यसले दुई पार्टीबीचको सम्बन्धलाई धमिलोमात्रै बनाएन, दूरी पनि ठूलो बढाइदियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदको ठूलो दल कांग्रेसलाई साथमा लिएर दोस्रो पटक प्रधानमन्त्री बने। आलोपालो सहमति अनुसार स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरे। एमालेसँग जति दूरी बढ्यो, त्यतिनै कांग्रेससँग सम्बन्ध सुमधुर बन्यो।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले राम्रो परिणाम हात नपारेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीप्रति टिप्पणी गर्दै भनेका थिए, ‘तालमेल गर्दा त यस्तो हालत देखियो। तालमेल नभएको भए खोज्नै गाह्रो पर्ने रहेछ।’ त्यतिबेलामात्रै होइन ओलीले स्थानीय तह निर्वाचन अघि दिएको अभिव्यक्ति चर्चामै आएको थियो। ‘एमालेबाहेकका शक्तिलाई टर्च बालेर खोज्नु पर्ने स्थिति आउँछ’ ओलीले भनेका थिए।
तर तीन वटै चरणका निर्वाचनपछि भने सबैभन्दा ठूलो दल एमाले नै भए पनि पपुलर मतमा कांग्रेसले उसको हाराहारी उभिने निश्चित छ। माओवादी केन्द्रले पनि शतक थप तहमा आफ्नो उपस्थिति देखाउने पक्कापक्की छ। ‘यस्तो अवस्थामा हेर्ने त केन्द्रीय संसदको निर्वाचन हो, त्यसको गणित हो’ ती नेताले भने, ‘अध्यक्षज्यूले भनेजस्तो स्थिति नहुने भयो।’
त्यसैले एमालेभित्र आगामी मंसिर १० र २१ मा हुने प्रदेश र केन्द्रको निर्वाचनलाई लिएर तुफानी बहस सुरु भएको छ। त्यसको अन्तर्य हो, अबका निर्वाचनमा जसरी भएपनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुन नदिने वा माओवादीलाई आफ्नो पक्षमा ल्याएर चुनावमा जाने।
कतिपय एमालेका नेताहरुले त प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रसँग जसरी पनि तालमेल गर्नु पर्ने आवाज उठाएका छन्। एमालेभित्र पछिल्लो समय प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रसँग मिलेर अघि बढ्न नसके कांग्रेस–माओवादी गठबन्धन लामो समय जानसक्ने बहस पनि उत्तिकै तातिएको छ। एमालेलाई सबैभन्दा ठूलो डर प्रदेश र संघको निर्वाचनपछि बन्ने प्रदेश र केन्द्रको सरकारमा पनि बाहिर रहिन्छ कि भन्ने छ। प्रदेश र संघको निर्वाचनमा तीन ठूला दल कसैले पनि स्पष्ट बहुमत नल्याए मिलिजुली सरकार बनाउनु पर्छ। कांग्रेस र माओवादी मिलेर प्रदेश र केन्द्रमा सरकार बनाएर आफूलाई बाहिर राख्ने एमालेको निष्कर्ष छ। एमालेका पहिलो र दोस्रो तहका नेताहरुले जसरी पनि कांग्रेससँगको माओवादी गठबन्धनलाई टुटाउने रणनीति तयार गर्न थालेका छन्।
माओवादीलाई मिलाउने जिम्मा बामदेवको
माओवादी केन्द्रसँग चिसिएको सम्बन्धलाई सुधारेर आफ्नो पक्षमा ल्याउने जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिने तयारी बालकोटको छ। ‘बामदेवको माओवादी अध्यक्ष प्रचण्डसँग एमालेका अरु नेताहरुभन्दा राम्रो सम्बन्ध रहेकाले पनि उनलाई जिम्मेवारी दिने तयारी छ,’ एक नेताले भने। ‘यसमा अध्यक्षज्यू अघि सर्ने कुरा भएन, काम उपाध्यक्षकै हो।’ माओवादी केन्द्रभित्रका कांग्रेससँग तालमेल गरेकोमा असन्तुष्ट रहेका नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्ने, टोपबहादुर रायमाझीहरुसँग पनि एमालेका दोस्रो तहका नेताहरुले केन्द्र र प्रदेशको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल गरिरहेका पनि छन्।
६०-४० को भागबण्डाको प्रस्ताव
एमालेले माओवादी केन्द्रसँग मिलेर चुनाव लड्न भागबण्डाको प्रस्ताव अघि सार्ने तयारी गरेको छ। एमालेले संघ र प्रदेशको निर्वाचनमा ६० र ४० को अनुपातमा भागबण्डा गरेर चुनावमा जानेसम्मको प्रस्ताव माओवादीलाई गर्न सक्ने एमालेभित्रका केही नेताहरुको भनाई छ। तर यो सहज नहुने तर्क गर्नेहरु पनि त्यत्तिकै छन्।
केन्द्रीय समितिमा होला बहस ?
झण्डै एक वर्षपछि एमालेको केन्द्रीय समितिको बैठक पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको छ। यो बैठकमा पार्टीको समकालिन राजनीति, शक्ति र सम्भावनाका विषयमा छलफल हुने एमाले नेताहरुको दाबी छ।
कतिपय नेताहरुले माओवादीसँग नजिकिनु पर्ने कारणबारे पनि यो बैठकमा कुरा उठाउन सक्ने सम्भावना छ। एमालेले प्रदेश र केन्द्रको निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तयार पर्ने, स्थानीय तहको निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाएको हो। यद्यपी, यहाँ उठेका आवाजलाई पार्टीको उच्च पंक्तीले रणनीति निर्माणको आधार ठान्ने निश्चित छ । नेपाल खबरबाट