पोखराका बुद्ध लामा बने पहिलो ’नेपाल आइडल’

2093
views

काठमाडौं, ७ असोज । प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध लामा पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन् ।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन् ।
यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे ।
एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए ।
फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे। विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार पुगेका थिए ।
फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ ।
बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्ने साझा सो बनेको छ।नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरे। यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल बनेको छ । अन्नपूर्ण पोष्ट