नुवाकोट खसी मेलामा १६ लाखभन्दा बढीको खसी बिक्रि

2108
views

नुवाकोट – दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ ।
हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् । तुप्चेका सहकारीले पछिल्लो पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन गर्दै आएका छन् ।
खसीबोका बिक्रीको मेलासँगै किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य सामग्रीसमेत बिक्री भएको आयोजक संस्था किसान र उपभोक्तालाई लक्षित गरी गाउँमै पालेको खसी समान मूल्यमा खरिद गरेर वडादशैँलाई सर्वसुलभ र भब्य बनाउन उक्त मेलाले सघाएको आयोजकमध्येका साविम कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिनुभयो ।
मेलामा २० किलोग्रामसम्मको खसीबोकाको प्रतिकिलोग्राम रु ३८०, २० देखि २४ केजीसम्मको प्रतिकेजी रु ४००, २५ देखि ३० केजीसम्मको प्रतिकेजी रु ४३०, ३० देखि ४० केजीसम्मको प्रतिकेजी रु ४४० र ४१ केजीभन्दा माथिको खसीबोकाको प्रतिकेजी रु ४५० मूल्य निर्धारण गरी बिक्री गरिएको थियो ।