उत्तर कोरिया, भेनेजुएला, र चादलाई अमेरिका भ्रमणमा रोक

2261
views

वासिङटन, ९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ ।
यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो ।
यस नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो । ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ ।
पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ ।
यसअघि अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएका राष्ट्रहरुमा इरान, लिबिया, सोमालिया, सिरिया र यमन थिए । ती देशले अमेरिका प्रवेश गर्न नपाउने सूचना यसअघि घोषणा गरिएको ९० दिन पनि आइतबार नै सकिएको थियो ।
सोही मौकामा अमेरिकाले आइतबार अर्को व्यवस्था नभएसम्मका लागि यी तीन समेत थप गरी आठ देशले अमेरिका प्रवेश नपाउने सूचना जारी गरेको घोषणा गरेको छ ।
यस देशहरुबाट आउने नागरिकलाई रोक्नुको कारण विशेषगरी सुरक्षा खतरा नै रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गर्नु भएको हो ।
उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ ।
भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा कामगर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवम् सेना प्रहरीमाथि लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाउनुभएका छ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ ।
उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ ।
नयाँ देशहरु उत्तर कोरिया, चाद र भेनेजुएलामाथिको या् प्रतिबन्धको नियम अगामी अक्टोबर १८ बाट लागू हुने बताइएको छ । तर यसअघि नै प्रवेशाज्ञा पाइसकेकाहरुलाई भने यो नयाँ कानुन लागू नहुने स्पष्ट गरिएको छ । ९रासस र एएफपी०