विश्वकै अग्लो सिचुवान प्रान्तको सुरुङ मार्ग खुल्यो

2061
views

काठमाडौं, ११ असोज । विश्वकै अग्लो स्थानमा निर्मित सडक–सुरुङ मार्ग चीनले मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । सिचुवान प्रान्तको चार हजार मिटर उचाइमा सो मार्ग निर्माण भएको हो । उक्त मार्गको निर्माणका लागि १५ वर्ष लागेको चिनिया अधिकारीहरुको भनाई छ ।
उक्त मार्ग क्विनघाई–तिब्बती पठारको चोला पहाड छेडेर बनाइएको हो । सात किलोमिटर लामो सुरुङका लागि पाँच किमि लम्बाइको सहायक मार्ग निर्माण गरिएको छ ।
तिब्बती भाषामा चोलाको अर्थ त्यसभन्दा माथि चिलहरु पनि उड्न सक्दैनन् भन्ने हुन्छ । ६ हजार एक सय ६८ मिटर उचाइको उक्त पहाडमा वर्षका आठ महिना हिउँले ढाक्छ ।
‘सुरुङको लम्बाइ, पातलो हावा र चिसो तापक्रमका कारण निर्माण क्रममा धेरै जटिलता आएको थियो,’ सुरुङ मार्गका मुख्य डिजाइनर वेई यानक्विङले भने ।
उक्त मार्गको सम्भाव्यता अध्ययन सन् २००२ मा सुरु भएको थियो । आयोजनालाई अन्तिम रुप दिनै विज्ञहरुलाई आठ वर्ष लागेको थियो । सन् २०१२ देखि मात्र निर्माणको काम सुरु भएको थियो ।
तिब्बत स्वायत्त क्षेत्रमा पर्ने गर्जे प्रिफेक्चरको यातायात ब्युरोका प्रमुख वाङ क्विआङका अनुसार परियोजनाको लागत एक अर्ब २८ करोड युआन छ । दुईतर्फ सुरुङको अधितम सवारी सञ्चालन गति ४० किमि प्रतिघण्टा तोकिएको वाङले जानकारी दिए ।
सुरुङ पार गर्न करिब १० मिनट लाग्छ । त्यसबाहिरको सडक पार गर्न भूक्षय, बफिर्लो हावा र अस्थिर हिउँ छिचोल्दै अगाडि बढ्नु पर्छ । त्यसका लागि यातायातका साधनलाई करिब दुई घण्टा लाग्छ ।