दलहरुले समानुपातिक सूची टुङ्ग्याउनै बाँकी, लचिलो नहुने आयोग

2027
views

काठमाण्डौ, २४ असोज । चुनाव लक्षित गठजोडमा व्यस्त हुनुपरेको भन्दै प्रमुख दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक सूची तयार पार्न नसकेको बताएका छन् । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न दलहरुलाई दिएको समयसीमा सकिन अब केही दिनमात्र बाँकी छ ।
आयोगको कार्यतालिका अनुसार दलहरुले आउने आइतवारसम्म समानुपातिक सूची बुझाउनुपर्नेछ । दलहरुले प्रत्यक्षतर्फका उम्मेदवारको सूची बुझाएपछि मात्रै समानुपातिकसम्बन्धी कार्यतालिका राख्नुपर्ने माग गरेपनि आयोगले त्यसो गरिए चुनावी तयारी नै प्रभावित हुने बताएको छ ।
आफूहरु सम्मिलित नयाँ गठबन्धनभित्रको भागबण्डामै बढी केन्द्रित हुनुपरेकाले समानुपातिकतर्फको सूचीमाथि गृहकार्य थाल्न नसकिएको प्रमुख दलका नेताहरुले बताएका छन्।
यदि प्रत्यक्षतर्फ व्यवस्थापन गर्न सकिएन भने कतिपय साथीहरुलाई समानुपातिकमा राखिनुपर्ने हुनसक्छ। पहिल्यै सूची बुझाएर त्यसलाई बन्द सूचीमा रुपान्तरित गर्दा अलिकति व्यवस्थापनको समस्या हुने एमाले नेता प्रदीप ज्ञवालीले बताए ।
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ सहभागिता जनाउन ८८ दल दर्ता भएका छन् । हरेक प्रदेशमा हरेक समुदायको छुट्टा–छुट्टै सूची तयार गर्नुपर्ने भएपनि निर्वाचन आयोगले त्यसका लागि आवश्यक सफ्टवेयर उपलब्ध नगराएको नेताहरुले बताएका छन् ।

समानुपातिकको सूची तयार गर्न गृहकार्यमा जुटिरहेको अर्को प्रमुख दल नेपाली कांग्रेसले पनि पार्टीको क्षेत्रीय र जिल्ला समितिहरुबाट प्राप्त भइरहेका उम्मेदवार सिफारिसको सूचीको अन्तिम टुङ्गो लगाउन संसदीय बोर्डलाई जिम्मा लगाएको छ ।
तर पहिले नै समानुपातिकको सूची बुझाउँदा महत्वपूर्ण जिम्मेवारी भएका नेतालाई समेट्न कठिन हुने भएकोले आयोगलाई केही लचिलो बन्न आग्रह गरेको कांग्रेस नेता बालकृष्ण खाँणले बताए ।
यस्तै अप्ठ्यारोमा अन्य दलहरु पनि देखिन्छन् । तर निर्वाचन आयोगले दलहरुको आग्रहमा लचिलो नहुने संकेत दिएको छ । आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकको समयतालिका बदले त्यसले सम्पूर्ण निर्वाचनको मितिलाई असर पार्ने र कतिपय कानूनी जटिलताहरु उत्पन्न हुनसक्ने बताए ।