म्याग्दी देविस्थानको भिम माविलाई एक करोड संकलन

1889
views

म्याग्दी, २४ असोज । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविको स्तरवृद्धिका लागि एककरोड रुपैयाँ संकलन भएको छ । चन्दा संकलन अभियान मार्फत सो रकम जुटेको हो । डेढ वर्षसम्म सञ्चालीत अभियानका क्रममा विद्यालयलाई समुदायबाट करिब एक करोड रुपैयाँ जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए ।
अभियान २०७३ बैशाख ६ गते देखि सुरु भएको थियो भने अभियानको २०७४ असोज १७ गते बिशेष समारोहको आयोजना गरि समापन गरिएको घर्तिले बताए ।
म्याग्दीका स्थानीयबासी, विश्वका विभिन्न देश र नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने देविस्थान बासी, पूर्व विद्यार्थी, छिमेकी गाउँका बासिन्दा र म्याग्देलीहरुबाट सो सहयोग जुटेको हो । उक्त रकमले अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला सञ्चालनका साथै दश जोड दुई तह र प्राबिधिक विषयको कक्षा सञ्चालनमा परिचालन गर्ने लक्ष्य राखिएको अभियानका मुल संयोजक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनको भनाई छ ।
अभियानमा देविस्थान घर भई हाल काठमाडौ निवासी बेलायती गोर्खा सैनीकका सेवा निवृत क्याप्टेन जितबहादुर घर्तीले सबैभन्दा बढी बिस लाख रुपैया सहयोग गरेका छन् । दश हजार रुपैया भन्दा बढी सहयोग गर्नेहरुको विद्यालय परिसरमा स्थापना गरिने शिलालेखमा नाम राखिने बताइएको छ ।