विवादमै अल्झियो बाम गठबन्धनः सहमति जुटाउनै मुस्किल

1293
views

काठमाडौँ, २५, असोज । चुनावी तालमेलपछि पार्टी एकतासमेत गर्ने भन्दै गठित तीन पार्टीको वाम गठबन्धनले ६ दिन वितिसक्दा पनि सहमति जुटाउन सकेको छैन् ।

चुनावी क्षेत्र निर्धारणमा सहमति जुटाउन नसक्दा तिनदिनभित्र काम सक्ने गरी गठित कार्यदलले मङ्गलबार पनि चुनावी क्षेत्र निर्धारणमा सहमति जुटाउन नसकोको हो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी समेतको गठबन्धनले तीन दिनभित्र काम सक्ने गरी कार्यदल गठन गरेको थियो । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार गठन भएको कार्यदललाई शनिबारसम्म आफ्नो प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो । कार्यदलमा सहमति जुट्न नसकेपछि सोमबार बैठक बसेर निष्कर्षमा पुग्ने एमाले नेता सुरेन्द्र पाण्डेले बताए । उनले भने ‘सोमबार बैठक नै बस्न सकेन, मङ्गलबार बसेको बैठकले क्षेत्र निर्धारणबारे विस्तृतमा छलफल गरेको छ, बुधबारको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउनेछ ।’

कार्यदलमा २०७० सालको संविधानसभा चुनाव र स्थानीय तहको मतलाई आधार मान्ने सहमति छ । भने सोही अनुसार प्रस्ताव लगेको बताइएको छ । पाण्डेले भने ‘ठ्याक्कै भनेजस्तो कतिपय स्थानमा ६०÷४० नै नहुन पनि सक्छ ।’ कार्यदलमा माओवादी केन्द्रको तर्फबाट सदस्य रहनुभएका नेता मातृका यादवले गठबन्धनमा साना दललाई कति सङ्ख्यामा सिट दिने भन्ने टुङ्गो लाग्न नसकेकाले प्रक्रिया लम्बिएको बताए । यादवले सिट र व्यवस्थापनका बारेमा छलफल चलिरहेको जानकारी दिए ।

गठबन्धनमा सहभागी एमाले, माओवादी केन्द्र, नयाँ शक्ति लगायतका दलले आगामी मङ्सिरका लागि घोषणा गरिएको प्रदेश तथा संसद्को निर्वाचनमा संयुक्त घोषणापत्रमा चुनाव लड्ने सहमति बनेको छ ।
गठबन्धनका मुख्य दल एमाले र माओवादीबीच देशैभरका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये अन्य दललाई दिएर बाँकी रहेको सङ्ख्यामा ६०÷४० प्रतिशत बाँडफाँट गर्ने सैद्धान्तिक सहमति बनेको छ । त्यसअनुसार नयाँ शक्तिले सङ्घमा १५÷२० र प्रदेशमा पनि त्यही आधारमा सिट पाउनुपर्ने दाबी गरेको छ ।