व्यस्थापिका संसद्को कार्यकाल समाप्तः यसरी हुँदैछ सांसदको विदाई

826
views

असेज २८ गते । रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त भएको छ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आइतबार हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार शुक्रबारदेखि कार्यकाल सकिएको हो । संसद् सचिवालयले औपचारिक रूपमा शनिबार आज विशेष समारोहबीच कार्यकाल समापन गर्दैछ ।
शुक्रबारको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले चालु अधिवेशनमा अनुपस्थित हुने सांसदको नामावली जानकारी गराई अनुमोदन गराउनुभएको थियो । संसद् अविधेशन अन्त्यकै शैलीमा कार्यकालको अन्तिम बैठक अन्त्य गरिएको हो ।
तर, औपचारिक रूपमा सचिवालयका तर्फबाट शनिबार विशेष समारोह आयोजना गर्ने कार्यक्रम शुक्रबार बिहान मात्र तय भएको हो । सभामुखका प्रेस विज्ञ बबिन शर्माका अनुसार शनिबार २ बजेदेखि साँझ ७ बजेसम्मको औपचारिक कार्यक्रम तय भएको छ ।
शनिबार दिउँसो २ बजे सभामुख र राजनीतिक दलका नेताको उपस्थितिमा तस्बिर सत्रको कार्यक्रम हुनेछ । अपराह्न ३ बजे राजनीतिक दलका शीर्ष नेताहरूले औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख घर्तीले समेत उक्त अवसरमा संसद्ले गरेका काम कारबाहीबारे जानकारी दिनुहुनेछ । औपचारिक मन्तव्यपछि सभामुखले आयोजना गर्नुहुने जलपान कार्यक्रम सुरु हुनेछ ।
दोस्रो संविधानसभाको पहिला बैठक २०७० माघ ७ मा सुरु भएको थियो । उक्त समयसीमाअनुसार संविधानसभाको कार्यकाल चारवर्ष तोकिएको थियो । तर, संविधान सभाले करिब १८ महिनामा संविधान जारी गरेपछि संविधानसभा विघटन भई रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो ।
विसं २०७२ असोज ३ गतेदेखि रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो । रूपान्तरित व्यवस्थापिका संसद् संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित भएको थियो । तर, राजनीतिक दलहरूबीचको विवादका कारण राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक भने पारित भएन ।
राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक भने अध्यादेशमार्फत जारी गर्ने सरकारको तयारी छ । यस्तै, चिकित्सा शिक्षा विधेयक पनि सदनबाट पारित भएन । रूपान्तरित संसद्मा संसदीय पद्धतिका दुर्लभ अभ्यास दुई महाभियोगको अभ्यास भएको थियो । तर, दुवै प्रस्ताव भने संसदमा निर्णयार्थ प्रस्तुत भएनन् ।