प्रधानमन्त्रीलाई ओलीको प्रश्नःमन्त्रीहरुकै जुलुस गर्नुहुन्छ ?

614
views

काठमाडौं, २८ असोज । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले रोष्टमबाटै प्रधानमन्त्रीसामू थप मन्त्री किन चाहियो भनेर प्रश्न गरेका छन् । अझै समय रहेको भन्दै उनले प्रस्तावित मन्त्रीहरुको नाम फिर्ता लिन पनि आग्रह गरे ।
शुक्रबार संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले मन्त्रिपरिषद् विस्तारको विरोध गरे । काम चलाउ भइसकेको वर्तमान सरकारको एक मात्र काम तोकिएकै समयमा स्वतन्त्र र निश्पक्ष चुनाव गराउनु भएको भन्दै ओलीले भने, ‘गृह, अर्थसहित २र३ मन्त्री भए पुग्छ । सुनिँदैछ मन्त्री ७० भन्दा ६ कम पुग्दैछ ।’
सरकारको चर्को आलोचना गर्दै ओलीले यसमा प्रतिपक्षको गम्भीर आपत्ति रहेको बताए । सरकार कानुनभित्र बस्नु पर्ने भन्दै उनले भने, ‘यो निर्वाचन आयोगको निर्णय विपरित हो । फेरि सपथ गराउन कसरी जाँदै हुनुहुुन्छ तपाई ?’
विनाविभागीय अर्थात काम नभएको मन्त्री बनाउन लागिएको भन्दै उनले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, थप मन्त्री किन चाहियो ? कुस्ती खेल्न त होइन होला ।’
युरोपतिर यस्तो हुँदा सेम अर्थात लाजलाग्यो भन्ने गरेको भन्दै उनले व्यंग गरे ।
राष्ट्रसंघ महासभामा जाँदा अमेरिकाको एक विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्रीले संविधान अनुसार ६० जना मन्त्री बनाउन पाइन्छ भनेको स्मरण गर्दै ओलीले भने, ‘प्रतिशतको हिसाव बुझाइदिने कोही छैन कांग्रेसमा ?’
शुक्रबारबाट संसद अधिवेशन अन्त्य हुँदै गरेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना नै नरहेको भन्दै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीलाई प्रश्न गरे, ५६ मन्त्रीले पुगेन ? मन्त्रीकै जुलुस गर्नु हुन्छ ?’
उनले राप्रपाका नेताहरुमाथि चुनाव जितिन्छ कि जितिँदैन, समानुपातिकमा परिने हो कि होइन, त्यसैले अहिले खाइहालौं भन्दै मन्त्री हुन लागेको हो भन्दै प्रश्न गरे । अनलाईनखबर