विपक्षी दलले राष्ट्रपतिलाई उचाल्न खोजेकै हो–देउवा

688
views

काठमाडौं । शनिवार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजा संवैधानिक नहुने तर, राष्ट्रपति संवैधानिक भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्र.म. देउवाले सरकार विस्तारका विषयमा विपक्षी दलले जति उचालेपनि राष्ट्रपति नउचालिएको प्रतिपनि संबोधनका क्रममा राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।
संसदमा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आठ मन्त्री थपेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेपछि ओलीको प्रश्नमाथि प्रतिप्रश्न गर्दै देउवाले भने, ‘संविधानमा दिएको अधिकार प्रधानमन्त्रीले उपयोग गर्न नपाउने ? यस्ता कुरा विपक्षी नेताले बोल्न मिल्दैन ।’
प्रधानमन्त्री देउवाले राष्ट्रियता, संविधान र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने भन्दै २ नम्बर चुनाव अघि पनि सरकार घटबढ भएको थियो । त्यो बेला केही बोल्नु भएन अहिले किन बोल्नुपर्यो भने ?
आचारसंहिता उलंघन भयो भन्ने भयो, निर्वाचन आयोगका प्रमुखले फरक पद्र्रैन भन्नुभयो । राष्ट्रपति उचाल्दा उचालिनु भएन उहाँ संवैधानिक राष्ट्रपति बन्नुभयो । उहाँलाई सम्मान र धन्यवाद छ ।
‘हिजो संवैधानिक राजा उचाल्दा उचालिन्थे । तर, राष्ट्रपतिज्यू संवैधानिक भएर बस्नुभयो । उहाँ उचाल्दा उचालिनु भएन । यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री देउवाले भने ।
मन्त्रीको संख्या धेरै भएको र त्यो निर्वाचन आचारसंहिता विपरित भएको आलोचनाको जवाफ दिने क्रममा प्रतिप्रश्न गर्दै प्रधानमन्त्रीले संवैधानिक अधिकार उपयोग गर्न किन नपाउने भन्दै प्रतिप्रश्न गरेका हुन् ।
देउवाले अबको अभियान आर्थिक समृद्धि भएको बताए । विकास र समृद्धिलाई लिएर अगाडि बढ्नुपर्छ भन्दै उनले प्रदेश र प्रतिनिधिसभको निर्वाचनपछि विकासमा देश अघि बढ्ने प्रष्ट पारे ।